• ७ बैशाख २०८१, शुक्रबार
बन्दना राणा राष्ट्रसंघीय जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित


काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित हुनुभएको छ ।

राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहनुभएकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित हुनुभएको हो । उहाँ राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)को २५ वर्ष पुगेको अवसरमा गत वर्ष भएको नैरोबी सम्मेलनमा तय गरिएका एजेण्डा पूरा गर्नका लागि सो आयोग गठन गरिएको थियो ।

सो उच्चस्तरीय आयोगमा २८ सदस्य छन् भने अध्यक्षता तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेते र क्यानडाका २७ औँ गभर्नर जनरल मिशेल जीनले गर्नेछन् । आयोगमा देशका पूर्व प्रमुखदेखि अभियानकर्मी र युवासमेत सदस्यको रूपमा रहेका छन् ।

आयोगले नैरोबी सम्मेलनमा गरिएका एक हजार २५० प्रतिबद्धता पूरा भए–नभएको अनुगमन गर्ने जनाइएको छ ।

Nabintech