कांग्रेसको प्रश्न:काँकडभिट्टा–इनरुवा रेलमार्गको भ्रष्टाचार रोक्न सरकार किन मौन ?

रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न माग



काठमाडौं ।काँकडभिट्टा–इनरुवा रेलमार्गको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा भेला भएर कांग्रेस कार्यकर्ताहरुले मौन विरोध प्रदर्शन गरेका हुन् । रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको कांग्रेसको आरोप छ ।

कांग्रेस कार्यकर्ताहरुले बोकेको प्लेकार्डमा ‘सरकार किन मौन?’लेखिएको थियो । उनीहरुले अख्तियार र राजनीतिक दलका नेताहरुलाई पनि मौन किन बसेको भन्दै प्रश्न गरेका छन् ।

सधैं सुशासनको कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओली रेलमार्गमा यत्रो अनियमितताको प्रश्न उठिरहेको बेला पनि मौन बस्नु रहस्यमय भएको नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले बताउनुभयो ।

महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलोमतोमा ठेक्का दिएको उहाँको आरोप छ । कोरोना संक्रमणको जोखिमका कारण सीमित संख्यामा भेला भएर र भौतिक दुरी कायम गरेर आफूहरुले विरोध प्रदर्शन गरेको नेता कर्णको भनाइ छ । रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका छन् ।
कांग्रेस भित्रै पनि सभापति शेरबहादुर देउवासमेत रेलमार्गको विषयमा मौन बस्दै आउनुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भने रेलमार्गको ठेक्का प्रक्रिया रोकेर हुन लागेको नीतिगत भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभएको थियो ।

Nabintech