युरिया मल ल्याउने ठेक्का पाएका प्रचण्डका घरबेटीको कम्पनीलाई सरकारले गर्यो कारबाही

मल ल्याउन अनुमति पाएका ७ कम्पनी मध्ये दुई कम्पनीको धरौटी जफत र कालोसूचीमा राख्न सिफारिस



काठमाडौं । नेपालमा मल ल्याउने ठेक्का पाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी  शारदाप्रसाद अधिकारीको कम्पनीलाई सरकारले कारबाही गरेको छ ।

आइतबार बिहान बसेको कृषि सामग्री कम्पनी लिमिटेडको बैठकले सम्झौताअनुसार समयमा रासायनिक मल नल्याएको भन्दै प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनलाई कारबाही गर्न सिफारिस गरेको हो।

त्यस्तै लिमिटेडले होमनाथ कोइरालाको होविको मल्टीपललाई पनि समयमा मल नल्याएको भन्दै धरौटी जफत र कालोसूचीमा राख्न सिफारिस गरेको छ।

कृषि सामग्री कम्पनी लिमिटेडले दुई कम्पनीको पाँच–पाँच करोड धरौटी जफत गर्न कृषि मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ।

यी दुई कम्पनीले लिमिटेडसँग भदौ २० गतेसम्ममा स्म्झौताअनुसार मल नेपाल भित्र्याइसक्नुपर्ने थियो। तर उनीहरुले मल ल्याउन म्याद थपको निवेदन दिएका छन्।

कृषि कम्पनीले ३ लाख ४ हजार ५ सय मेट्रिक टन मल आयात गर्न ७ कम्पनीलाई अनुमति दिएको थियो। जसमध्ये करिब साढे २ लाख टन मात्रै मल भित्रिएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले २ कम्पनीलाई कारबाहीको लागि गरिएको सिफारिस मन्त्रालयमा आएको थियो । भुसालले समयमा मल नल्याउने कम्पनीमाथि कारबाही गर्ने यसअघि नै प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले सम्झौता अवधि सकिएपछि दुबै कम्पनीलाई कालोसूचीमा राखेर धरौटी जफत गर्ने बताउनुभएको थियो ।

ठेकेदारहरुले सम्झौताअनुसारको मल समयमै नल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग ५० हजार टन युरिया मल सापटी दिन आग्रह गर्नुभएको छ ।

Nabintech