• ५ फाल्गुन २०८२, मंगलवार
स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति खड्कालाई अन्तत: देउवाले तोके कार्यवाहक सभापति


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्यका कारण देखाएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरे ।
उनले विषम परिस्थितिमा पार्टीभित्र सम्पूर्ण मतभेद बिर्सेर एकताबद्ध हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरे । उनको यो आह्वान र कार्यवाहक सुम्पिएपछि कांग्रेसको १५ औँ महाधिवेशन कसरी र कहिले हुन्छ भन्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ ।

देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी मंसिर मसान्तमा सकिँदैछ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बहुमतले एक वर्ष कार्यसमितिको म्याद थप्न सक्ने व्यवस्था विधानले गरेको छ ।

पार्टीमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन् । पार्टीभित्र डा। शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । तर संस्थापन भने विधि र प्रक्रिया पुर्‍याएर १५ औँ महाधिवेशन नियमित गर्नलाई मंसिरसम्म समय नपुग्ने बताउँदै केही समय थप्नुपर्ने बताउँदै आएको छ ।

यही अवस्थाले मंगलबारका लागि बोलाइएको केन्द्रीय समिति बैठकका एजेन्डा तोक्न नसकिरहेका बेलामा देउवाले कार्यवाहक तोक्दै देउवाले आगामी १५ औं महाधिवेशनबाट आफूबाहेक अन्य कुनै साथी सभापति बन्ने स्पष्ट धारणा केन्द्रीय समितिमा लिखित रूपमा राखे ।

देउवाले भने, ‘घरमा सधैं एकै जना मूली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु ।’ उनी कार्यवाहक सुम्पेर नेतृत्वबाट ‘रिङ आउट’ भएपछि महाधिवेशन कहिले र कुन हुन्छ भन्ने विषय उठेको छ ।

बैठकपछि कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणाले नियमित महाधिवेशनका लागि कार्यवाहक र पदाधिकारीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताए ।

संस्थापन पक्षीय केन्द्रीय सदस्य राणाले पदाधिकारीहरू अब विशेष महाधिवेशन भन्दै नलागी नियमित महाधिवेशन जतिसक्यो चाँडो गर्ने वातावरण निर्माण गर्न लाग्नुपर्ने बताए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीहरूसँग सभापति देउवाले आगामी महाधिवेशनपछि नेतृत्व छोड्ने बताइसक्दा पनि पार्टीका जिम्मेवार नेताहरूले मुख्य विषयलाई नै विषयान्तर गरेर नेतृत्वमाथि प्रश्न उठाएकोमा आपत्ति जनाए

महाधिवेशन सम्पन्न गर्न खड्कालाई जिम्मेवारी दिएसँगै पूर्ण रूपमा कार्यकारी भूमिकाबाट आफूलाई अलग राखेको सन्देश सभापति देउवाले दिएका छन् ।

जेन-जी आन्दोलनले राजनीतिमा उथलपुथल गराएसँगै देउवा आफ्नो उत्तराधिकारी खडा गर्न नपाउँदै पार्टी नेतृत्वबाट बिदा हुनुपर्‍यो । यदि, जेन-जी आन्दोलनले यो परिस्थिति निर्माण नगरेको भए एमाले–कांग्रेस समीकरणको सहमति अनुसार २०८३ असारमा आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गराउने दाउमा थिए उनी ।

जेन-जी आन्दोलनपछि देउवाले १५ औं महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्ने सुरक्षित बाटोसमेत लिने प्रयास गरेका थिए । तर, पार्टीभित्र तत्काल नेतृत्वबाट हट्न उनीमाथि चर्को दबाब पर्‍यो । कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले भदौ २३ र २४ अगाडिको स्थिति र त्यसपछिको स्थिति एउटै नभएको भन्दै सार्वजनिक रुपमै नेतृत्वबाट अलग हुन आह्वान गरेका थिए । विशेष महाधिवेशनका लागि ५२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत गराए । आम कार्यकर्ताको भावना पनि देउवाले तत्काल बहिगर्मनको बाटो रोज्नुपर्नेमा देखियो । यी सबै दबाबका कारण देउवा आजको स्थितिमा आइपुगेका हुन् ।

 

Nabintech