काठमाडौं । जेनजी आन्दोलनमा आफ्नै निवासभित्र सांघातिक आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री आरजु राणा ३४ दिनपछि सार्वजनिक भएका छन् ।
आज पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन उनीहरु एकसाथ सानेपास्थित कांग्रेस कार्यालय पुगे । गाडी केही वरै रोकेर उनीहरु हिँड्दै कार्यालय प्रवेश गरेका थिए । बाहिर कार्यकर्ता र समर्थकको भिड थियो । दुवैजना फ्रेस देखिन्थे । शरीर र अनुहारमा चोटको निशान बाहिरबाट देखिएन । आरजु मुस्काएकी थिइन् भने देउवा गम्भीर मुद्रामा थिए । देउवाले समर्थकहरुलाई नमस्कार गर्दै कार्यालय छिरे । उपसभापति पूर्णबहादुर खड्काले उनलाई स्वागत गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते आफूहरूमाथि ज्यानै लिने मनसायले सांघातिक हमला भएको बताएका छन् ।
जेनजी आन्दोलनपछि मंगलबार पार्टी कार्यालयमा सार्वजनिक भएका देउवाले सिंगो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताएका हुन् ।
‘घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौंको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईंहरू जानकार नै हुनुहुन्छ’, देउवाले भने, ‘त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो ।’
पार्टीका नेताहरूको माया, प्रार्थना र कामनाले उपचारपछि आफू बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको देउवाले उल्लेख गरे ।
‘मेरो राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउन सक्छ, केवल सामना गर्ने साहस राख्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ’, देउवाले भने ।
यो घटनाक्रम झट्ट हेर्दा आफू र आफूजस्तै कांग्रेस र अन्य राजनीतिक दलका अनगिन्ती नेतामाथिको व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टीमाथिको आक्रमण नै हो भन्ने आफ्नो ठहर रहेको देउवाले बताए ।
‘म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु, साथै जीवनभर स्मरण गरिरहनेछु’, देउवाले भने, ‘हाम्रो पार्टीको यो बैठक समसामयिक अवस्थाको ठोस विश्लेषण गरी देशलाई उचित निकास दिने गरी आवश्यक निर्णय गर्ने नै छ भन्ने मेरो विश्वास छ । नेपाली कांग्रेसले आफूलाई एकताबद्ध बनाएर देश सामु उपस्थित चुनौतीको सामना गर्नु छ ।’
राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर संकटमा परेको भन्दै देउवाले यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको उल्लेख गरे ।
‘यसलाई ध्यानमा राखी हाम्रो पार्टीको विधान अनुसार तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिनेछ । देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलसँग पनि वार्ता सम्वाद गर्नुछ’, देउवाले भने, ‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’
निर्दोष जेनजी युवाको ज्यान गएको घटनाले मर्माहत छु : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
जेनजी आन्दोलनको ३४ दिनपछि पहिलोपटक सार्वजनिक हुने क्रममा कांग्रेस मुख्यालयमा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
‘गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो, निर्दोष नवयुवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ । यसले पक्कै पनि हामी सबैलाई स्तव्ध बनाएको छ,’ देउवाले भनेका छन्, ‘म सबैभन्दा पहिले भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु । दुस्खको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनामा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
मुलुकको विषम अवस्थामा तोडफोड, लुटपाट र आगजनीबाट खरानी भएर भग्नावशेषको रूपमा बाँकी रहेको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।
थुप्रै सार्वजनिक संस्था, सम्पत्तिमा आगजनी र तोडफोड भएको भन्दै देउवाले घटनालाई इतिहासमै डरलाग्दो रूपमा लिपिबद्ध हुने जनाएका छन् ।
‘भदौ २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन, अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय पालिका भवनहरू, वडा कार्यालय, जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरू, राजनैतिक दलका विभिन्न कार्यालयहरू, नेताहरूको निजी घर डेरा, सञ्चार गृहलगायत व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो,’ देउवाले भनेका छन्, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ ।’







