• ५ फाल्गुन २०८२, मंगलवार
बालेन र सुधनविरुद्ध नेविसंघले पनि दियो किटानी जाहेरी, दर्ता गर्न २४ घण्टाको अल्टिमेटम


काठमाडौं ।नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध किटानी  जाहेरी दिएको छ।

गत भदौ २३ र २४ गतेको घटनालाई लिएर कांग्रेस निकट नेपाल विद्यार्थी संघ  (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको हो । । आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी दिइएको हो ।

जेनजी आन्दोलनपछिको परिस्थितिबारे छलफल गर्न हिजो नेविसंघ केन्द्रीय समिति वैठक बसेको थियो । उक्त वैठकले बालेन र सुधनविरुद्ध देशव्यापीरुपमा जाहेरी दिने निर्णय गरेको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साह र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन्।

नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरमा साह र गुरुङमाथि युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यानसमेत जाने गरी मुठभेड गराएको आरोप लगाइएको छ ।

निजहरुले देशका राष्ट्रिय सम्पदाहरु, भवन संरचनाहरु तथा सरकारी कार्यालयका सामान र कागजातहरु लुटपाट गरी चलअचल सम्पत्ति नष्ट गरेको र र उक्त सम्पत्ति नष्ट गर्नुपर्छ भनि मानिसहरुलाई उक्साएको दावी गरिएको छ ।

बिष्टले संगठनको निर्णयअनुसार आफूले काठमाडौं र ललितपुरमा जाहेरी दिएको बताए । जाहेरी दर्ता भने भएको छैन । प्रहरीले सरकारी वकिल कार्यालयसँग सल्लाह गरेर निर्णय लिने बताएका थिए । यसअघि पनि यस्तै प्रकृतिका जाहेरी आएको हुँदा सबैलाई एउटै कारवाही प्रक्रियामा लगिने प्रहरीको भनाइ थियो ।

नेविसंघले भने जाहेरी दर्ताका लागि २४ घन्टाको अल्टिमेटम दिएको छ । २४ घन्टाभित्र जाहेरी दर्ता नभएको खण्डमा आफूहरु सडकमा उत्रिने चेतावनी दिएर आएको बिष्टले बताए ।

यसअघि एमाले निकट अनेरास्ववियूले बालेन र सुधनविरुद्ध देशका विभिन्न जिल्लामा जाहेरी दिएको छ । ती जाहेरी जाँचबुझ आयोगमा पठाइने प्रहरीले बताएको थियो ।

 

 

 

Nabintech