काठमाडौँ । जेनजी आन्दोलनकारीले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रका केही मन्त्रालय बाहेक सबै मन्त्रालयहरू आगलागीबाट ध्वस्त भएका छन् ।
आगजनीबाट प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सवै मन्त्रालयमा आगोको छ ।
संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अदालत, प्रहरी कार्यालय, नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन् । नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन ।
राणकालीन वैभवको इतिहास बोकेको सिंहदरबार बुधबार अपराह्न ३ बजेतिरबाट जल्न सुरू गर्यो। बुधबार अबेर रातिसम्म सिंहदरबार धुवाइरहेको थियो।
यत्रो विध्वसंमा पनि सिंहदरबार भित्रका केही मन्त्रालय बाँकी छन्।
रक्षा मन्त्रालयमा कुनै क्षति भएको छैन। यो केही वर्षअघि मात्र बनेको नयाँ भवन हो। यसमा तत्कालै मन्त्रीले गएर काम सम्हाल्न सक्छन्।
पर्यटन मन्त्रालयमा कुनै प्रकारको आगजनी र तोडफोड भएको छैन। यो मन्त्रालयमा पनि मन्त्रालय र कर्मचारीहरूले तत्कालै काम थाल्न सक्छन्।
उद्योग मन्त्रालय पनि आगजनी र तोडफोडबाट जोगिएको छ। रेडियो नेपाल र महान्यायाधीवक्ता कार्यालयको बीचमा रहेको भवनमा प्रदर्शनकारीको आँखा नपरेको हुनसक्छ। जसका कारण भवन जोगिएको छ।
त्यस्तै परराष्ट्र मन्त्रालय पनि सिंहदरबार भित्रको आगलागीबाट जोगिएको छ। नयाँ मन्त्रीले तत्कालै यो मन्त्रालयमा गएर काम थाल्न सक्छन्। केही सीसा भने तोडफोड भएका छन्। मन्त्रालयका केही गाडी तोडफोड भएका छन् तर सामान्य मर्मतले ती चल्न सक्ने अवस्थामा छन्।
मन्त्रालयले विदेशी पाहुना आउँदा प्रयोग गर्ने गरेको कालो गाडीहरू पनि जोगिएको छ। तत्कालै मन्त्रीहरूलाई आवश्यक पर्ने गाडी उपलब्ध गराउन सकिने अवस्था छ। ती गाडी छोपेर राखिएको कारण पनि प्रदर्शनकारीको आँखा नपरेका हुन सक्छन्।
सिंहदरबारमा रहेको कानुन मन्त्रालयका गाडीहरू जलेका छन् तर मन्त्रालय जलेको छैन। फुटेका सिसाहरू सफा गरेर सामान्य मर्मतबाटै मन्त्रालय चल्न सक्छन्।
सहरी विकास मन्त्रालय, सञ्चार मन्त्रालयमा पनि क्षति पुगेको छैन। ती सिंहरबारको दक्षिणगेटबाट गृह मन्त्रालयतर्फ जाँदा दायाँतर्फ पर्छन्। सामान्य मर्मतमा ती मन्त्रालयले काम गर्न सक्छन्।
सिंहदरबारमा संसद सचिवालयका दुई भवन र केही काठका टहरा छन्। त्यो पनि सुरक्षित छ।
राष्ट्रिय सभाका अध्यक्षको कार्यालय रहेको संसद सचिवालयको दोस्रो भवनमा कुनै क्षति पुगेको छैन। त्यहाँ पार्किङमा राखिएका गाडी पनि जोगिएका छन्। सचिवालयको पहिलो भवनमा पनि क्षति भएको छैन तर सचिवालयका एक कर्मचारीका अनुसार १६ वटा गाडी जलेका छन्। सिंहदरबारमा रहेको पुरानो संसद भवन अहिले पुर्ननिर्माण भइरहेको छ।
पुनर्निर्माणका लागि त्यहाँ भएका सामानहरू निर्माण कम्पनीले एउटा टहरामा राखेको थियो। ती भने जलेर सखाप भएका छन्। संसद सचिवालयले नै व्यवस्थापन गर्ने दलका कार्यालयहरु भने ध्वस्त भएका छन्। ती कार्यलयहरू जलेका छन्।
सिंहदरबारमा नयाँ संसद परिसर निर्माण भइरहेको छ। नयाँ भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कक्ष, दलका कार्यालय र सचिवालयका भवन बनिरहेका छन्। संसद सचिवालयका दुवै भवनलाई नयाँ परिसरका भवनमा तत्कालै सार्न सकिने अवस्था छ। त्यस्तो अवस्थामा संसद सचिवालय प्रयोग गरिरहेका भवनहरूमा मन्त्रालय सञ्चालन गर्न सकिन्छ।
अर्थ मन्त्रालयको पछाडिको भाग जलेको छ। तर अगाडितर्फको भागमा क्षति पुगेको छैन। केही तलामा आगो लागेको भए पनि मन्त्रालयका धेरै भाग जोगिएको छ। केही गाडीहरू ध्वस्त भएका छन् भने केही गाडीका सिसा मात्र फुटेका छन्। ती मर्मत सम्भार गरेर सञ्चालन गर्न सकिने अवस्थामा छन्। ऊर्जा मन्त्रालयका सवारी साधनमा व्यापक क्षति पुगेको छ। भवनमा आगजनी गरिए पनि उल्लेख्य क्षति पुगेको छैन। पछाडिको भागचाहिँ केही जलेको छ।
अन्तरिम सरकार निर्माणको तयारी भइरहेकाले यी भवनहरू मन्त्रालयका लागि प्रयोग गर्न सकिने अवस्थामा छ।
गृह मन्त्रालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ। यो भवनमा गृह मन्त्रालय सरिसकेको छैन। त्यसैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनबाट सञ्चालन गर्न सकिने अवस्था छ।
प्रधानमन्त्री कार्यालयको पश्चिम तर्फको मुख्य भवनमा व्यापक क्षति पुगेको छ।
तर सोही भनवको पूर्वी मोहोडातर्फ केही तल्लाहरू जोगिएका छन्। पश्चिम मोहोडा पुनर्निर्माण भन्दा पनि नयाँ निर्माण नै गर्नुपर्ने अवस्थामा छ। तर पूर्वी मोहोडा मर्मत सम्भारबाट सञ्चालन गर्न सकिने अवस्थामा छ। गृह मन्त्रालय, शिक्षा मन्त्रालय, संघीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय भने पुनर्निर्माण नै गर्नुपर्ने अवस्था छ।
मुख्य सचिव एकनारायण अर्यालले शुक्रबार सिंहदरबारभित्र तोडफोड र आगजनीबाट भएको क्षतिको अवलोकन गरेका छन्। उनका अनुसार सिंहदरबार भित्रको अभिलेखमा कति क्षति पुगेको छ भनेर यकिन नै गर्न गाह्रो छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत मन्त्रालय परिसरमा रहेका सवारी साधनहरूमा पुर्याइएको क्षतिको लेखाजोखा भइरहेको छ।







