काठमाडौं । सत्तारूढ दलले उपसभामुख इन्दिरा राना मगरमाथि महाभियोग प्रस्ताव अघि बढाए त्यसको सशक्त प्रतिवाद गर्ने विपक्षी दलहरूले निर्णय गरेका छन् ।
प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उपसभामुख रानामाथि महाभियोग ल्याउने भन्दै सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर अभियान चलाएपछि विपक्षी दलको बैठक बसेको हो ।
बैठकले यस्तो प्रस्ताव र प्रयत्नको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको विपक्षी दलका नेताहरूले बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले संवैधानिक परिषद्मा सत्तापक्षको बहुमत नपुगेपछि उपसभामुखलाई हटाउने षडयन्त्र गरिएको उनले बताए ।
‘इन्दिरा राना मगरलाई हटाएर उनको ठाउँमा नेपाली कांग्रेसको कुनै मान्छेलाई ल्याउन पाइयो भने आफ्नो बहुमत बनाउन ९संवैधानिक परिषद्मा० सकिन्छ भन्ने एउटा अत्यन्त तल्लो, छुद्र स्वार्थका लागि गरिएको काम हो यो । यो काम कुनै हालतमा सम्भव हुन दिनु हुँदैन भन्ने निर्णय हामीले गर्यौं’, पाण्डेले भने ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तारूढ दलले गरेका गतिविधिका विरुद्ध साझा धारणा बनाउन बैठक बसिएको बताए । उनले कांग्रेस-एमालेको कदम राष्ट्रका लागि, लोकतन्त्रका लागि राम्रो छैन भन्ने निष्कर्ष बैठकले निकालेको बताए ।
‘प्रतिपक्ष दलको बैठक बोलाएर सबैको साझा धारणा बनाएर अघि बढ्ने काम भएको छ । यसको (सत्तारूढ दलको हस्ताक्षर अभियान)विरोध गर्नुपर्छ भन्ने छलफल भयो । सशक्त विरोध गरेर जाने भन्ने भयो’, पाण्डेले भने ।
यस्तै, रास्वपाका सचेतक सन्तोष परियारले सरकारले राजनीतिक षडयन्त्र गर्न खोजेको टिप्पणी गरे । उनले कांग्रेस-एमालेले चलाएको हस्ताक्षर अभियानको प्रतिपक्षी दलले गम्भीर रूपमा समीक्षा गरेको पनि बताए ।







