काठमाडौं । २२औं श्रृजनशील उद्यमी मेला काठमाडौंमा साउन २२ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सृजनशील केन्द्रको प्रवद्र्धन तथा राइजिङ्ग नेपाल प्रा.लि सँगको सहकार्यमा एवं इभेन्ट सञ्चार डट. कमको व्यवस्थापनमा मेला आयोजना हुन लागेको जानकारी गराइएको हो ।
मेला आगामी साउन २२ गतेदेखि २५ गतेसम्म बालुवाटार स्थित आम्रपाली ब्याङ्केटमा हुनेछ । चार दिने मेलाको मुख्य प्रयोजक डाबर नेपाल रहेको छ भने उद्घाटन समारोह माननीय उद्योग मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा हुने आयोजकको भनाइ छ ।
महिला दिदीबहिनीहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशिलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउने उदेश्यका साथ मेलाको आयोजना हुन लागेको हो ।
विगत २२ वर्षदेखि सञ्चालनमा आएको मेलाले महिला दिदीबहिनीहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगारतर्फ अग्रसर बनाएको छ भने उत्पादकत्व वृद्धि र बजार पहुँच गर्न टेवा र्पुयाएको छ। यस संगठन मार्फत हालसम्म ५०० भन्दा बढी दिदीबहिनीहरूले स्वरोजगार रोज्न सफल भएका छन् ।
महिला सृजनशिल केन्द्रकी अध्यक्ष मिलु थापाले यस मेलाले महिलालाई उद्यमी बनाउन सहयोग गर्ने अपेक्षा भएको बताइन् । उनले भनिन्, ‘हामी नाफामुखी संस्था होइनौं, तर महिला उद्यमीलाई आर्थिक क्रान्तिको मार्गमा उन्मुख गराउन र उनीहरूलाई बजारसम्म पु(याउने माध्यमको रुपमा काम गरिरहेको छौं । त्यसैले नयाँ उद्यमी दिदीबहिनीहरूलाई सहयोग गर्न, साझेदारितामा गरिने गतिविधिहरूलाई अगाडि बढाउन सरकार, मिडिया र विभिन्न साझेदारको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’
वृहत् मेलामा सय भन्दा बढी स्टलहरू रहन छन् । मेलामा उत्पादन र प्रदर्शनीलाई व्यापक बनाउने उद्देश्य रहेको राइजिङ नेपाल प्रालिका प्रमुख पशुपति के।सीले बताए ।
लक्षित प्रदर्शकहरूमध्ये महिला सिर्जना, हस्तकलाका सामाग्री, घरेलु उद्योग व्यवसायी, समाजिक संस्थाहरू, महिला बचत संघ संस्था तथा प्रविधिमैत्री संघस्थाहरू रहेको पनि जानकारी गराए । उनले भने, ‘मेलाको अवलोकनकर्ताहरूमा महिला दिदीबहिनी, नयाँ व्यापार सुरु गर्न चाहनेहरू, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पर्यटक, विद्यार्थी–कलाकार, पत्रकार मिडिया, सरकारी निकायहरू लगायत रहेका छन् ।’
मेलाको मुख्य आकर्षणहरूमा घरेलु तथा हस्तकलाका सामग्रीहरू प्रदर्शन, महिला उद्यमशिलता वस्तु तथा सेवा, तीज विशेष परिकारहरू, निशुल्क स्वास्थ्य शिविर, निःशुल्क मेहेन्दी सफ्टवेयर, विशेष उपाहार व्यवस्था आदि समावेश गरिएको छ ।
आयोगकले ५ वटा भन्दा बढी स्टलहरू अशक्त, असहाय वा ग्रामीण पिछडिएका महिला उद्यमीहरूलाई निशुल्क रूपमा प्रदान गरेको जनाइएको छ ।







