• ५ फाल्गुन २०८२, मंगलवार
रेशम–रञ्जिता घरझगडाले नागरिक उन्मुक्ति फुटको संघारमा,रञ्जितालाई हटाएर रेशमले बाबुलाई बनाए अध्यक्ष !


काठमाडौं । पार्टी स्थापना भएको छोटो समयमै राम्रो चुनावी नतिजा ल्याएर सरकारमा गएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अन्ततः पारिवारिक किचलोका कारण फुटको संघारमा पुगेको छ।

श्रीमान्–श्रीमतीसमेत रहेका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको कलहले सिंगो पार्टी नै संकटमा फस्न पुगेको छ।

नाउपाको संस्थापकहरूको बिहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ।

बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गरेका थिए। अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बाबु हुन्।

अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा सदस्यसमेत हुन्। २०७९ सालको निर्वाचनमा बर्दिया २ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए उनले। स्वतन्त्र उम्मेदवारी दिए पनि उनी नाउपाकै समर्थनमा विजयी बनेका थिए। पछि ८ पुस २०७९ काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा लालवीर नाउपा प्रवेश गरेका थिए।

अबिर र खादा लगाएर नाउपा प्रवेश गराउने अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर चौधरी नाउपा अध्यक्षमा उक्लिए।

अध्यक्ष चयन भएपछि लालवीरले भने, ‘हामीले उहाँ (रञ्जिता)लाई अहिले पनि भनिरहेकै छौँ यहाँ आएर आफ्नो कुरा भन्नुस्। सबैको सल्लाहमा पार्टी चलाउनुपर्छ भन्दा नमानेपछि यो अवस्था आयो।’

पार्टीलाई अपठ्यारोबाट निकास दिन आफूले नेतृत्व गरेको उनको भनाइ छ। केही समय मत्थर रहेको श्रीमान्–श्रीमतीको विवाद रञ्जिता पोखराको जग्गा हत्याउनका लागि रचिएको घुस प्रकरणमा मुछिएपछि पुनः चर्किएको हो। रञ्जिता मुछिएको घुस प्रकरणमा अडियो सार्वजनिक र अख्तियारले अनुसन्धान थालेपछि रेशमले रञ्जितामाथि कारबाहीको डण्डा चलाउने मौका पाए।

रेशमले रञ्जितालाई पार्टीमा आएर उठेको प्रश्नको जवाफ दिन सार्वजनिक आह्वान नै गरे। तर रञ्जिताले टेरिनन्।

१० साउनमा बहुमत केन्द्रीय सदस्यहरूले रञ्जिता श्रेष्ठलाई २४ घण्टाभित्र बैठक बोलाउन आग्रह गरे। नभए नयाँ भेला गर्ने चेतावनी दिइयो। तर रञ्जिताले बैठक नबोलाएर स्वास्थ्यलाई कारण देखाउँदै वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकिदिइन्।

त्यसपछि १३ जना संस्थापक केन्द्रीय सदस्यको बैठकले रञ्जितालाई २४ घण्टे स्पष्टीकरण माग्यो तर उनले स्पष्टीकरण बुझाइनन्। त्यसपछि रञ्जितालाई बर्खास्त गरेर लालवीरलाई अध्यक्ष चयन गरिएको हो।

रञ्जिताले ‘विधानविपरीत’ बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन्। राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्रै हुने बताउँदै उनले आफूले कुनै भेला आह्वान नगरेको बताएकी छन्।

उनले संसदीय दलका नेता गंगाराम चौधरीलाई पार्टीको बैठक किन बोलाएको भन्दै स्पष्टीकरण पनि सोधेकी छन्। नाउपामा गहिरिँदै गएका आन्तरिक कलहको असर प्रदेश सभामा पनि छताछुल्ल छ।

सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको नाउपाका रञ्जिता पक्षीय सांसद कैलाश चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिए।

उसो त सरकारमा सामेल उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री शाहले विश्वासको मत लिनु परेको थियो।

उद्योगमन्त्री चौधरी कृषि मन्त्री रहेका बेला ‘पावर टिलर’ दिने भन्दै कमिसन लिएको आरोपपछि बर्खास्तीमा परेका थिए।

नागरिक उन्मुक्ति पार्टीका नेता एकपछि अर्को गर्दै भ्रष्टाचार मुद्दामा मुछिएका छन्।

रामेश्वरअघि उद्योगमन्त्री रहेका नाउपाकै लक्ष्मणकिशोर चौधरीले लेनदेनको कुरा गरेको अडिओ सार्वजिनक भएपछि पदबाट राजीनामा दिएका थिए।

 

 

Nabintech