सागका स्वर्ण विजेतालाई फारम भराएर पनि विभूषित गरेन सरकारले:राखेप कर्मचारी संघ


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा मानपदवी, अलंकार पदकद्वारा विभिन्न क्षेत्रका व्यक्तिलाई घोषणा गर्दा खेलकुद क्षेत्रबाट महत्वपूर्ण योगदान पुराउने खेलाडी माथि भएको विभेद प्रति ध्यानाकर्षण भएको बताएको छ ।

शनिबार घोषणा भएको विभूषणमा तीन विभाग (सेना, प्रहरी र शसस्त्र) बाट सिफारिस भएका १३ औं दक्षिण एसियाली खेलकुद (साग) का १५ जना स्वर्ण पदक विजेतासहित ओलम्पियन संगिना वैद्य, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका विभागिय प्रमुख कुलबहादुर थापामात्र खेल क्षेत्रबाट विभूषित भएका थिए ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेता खेलाडीलाई विभूषणको लागि फारम भराएर पनि सुचीमा समावेश नहुनुलाई कर्मचारी संघले खेलाडीको अपमान भएको ठहर गरेको छ । १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९७ कास्यसहित २ सय ७ पदकका साथ पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो ।

१३ औं सागमा पौडी खेलाडी गौरिका सिंहले ४ वटा स्वर्ण जितेकी थिइन् । उनी पौडीको एकल प्रतिस्पर्धामा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी मात्र नभई एकै सागमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमनी खेलाडी हुन् ।

तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २ वटा स्वर्ण जितेका थिए । त्यस्तै ट्रायथोलनकी सोनी गुरुङ, १० हजार मिटरमा दौडमा सन्तोषी श्रेष्ठ, भारत्तोलनमा सञ्जु चौधरी, कुस्तीमा संगीता धामीले नेपाललाई आफ्नो स्पर्धामा पहिलो पटक स्वर्ण दिलाउने इतिहास रचेका थिए । नेपाली यू २३ टोलीले स्वर्ण पदक जितेको थियो । कुल ७६ खेलाडीले ५१ स्वर्ण पदक जितेका थिए ।

कर्मचारी संघका अध्यक्ष रन्जन थापाले सोमबार जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘समान योगदान गर्ने खेलाडीहरु माथि राज्यले दिइने सम्मान पदकमा समेत भेदभाव गरि कसैले पाउने कसैले नपाउने विभेदसहित पक्षपात पूर्ण व्यवहार ज्यादै दुःख लाग्दो विषय हो । यस्ता गलत कार्यले समग्र खेलाडी माथि अपमान भएको छ र खेलाडीको भावनामाथि नै चोट पुर्याएको छ ।’

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि शनिबार नै विज्ञप्ती जारी गर्दै विभूषणमा खेलाडीलाई नसमेट्नुलाई खेलाडीको अपमान भएको बताएको थियो । पदक विजेता खेलाडीलाई विभूषित नगरिदा खेलकुदसँग सम्बन्धित व्यक्तिले पनि गुनासो गरेका थिए ।

कर्मचारी संघले पक्षपात पूर्ण कार्यलाई तुरुन्त सच्चाई राज्यका लागि रगत पसिना बनाएर राष्ट्रको इज्जत प्रतिष्ठालाई उच्च स्थामा राख्ने सबै खेलाडी तथा प्रशिक्षकहरुलाई पदक सहित सम्मान गर्न सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई अनुरोध समेत गरेको छ ।

Nabintech