सय केजी सुन तस्करी प्रकरण : अनुसन्धानको जिम्मा अब सिआइबीलाई !


काठमाडौं । सय केजी सुन तस्करी अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई लगाएको छ ।

अब तस्करीसँग जोडिएका सम्पूर्ण विषयको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्नेछ । विभागले आइतबार अनुसन्धानका सम्पूर्ण तथ्य, कागजात र पक्राउ परेर थुनामा रहेका आरोपित, जफत भएका वस्तुहरूसमेत सिआइबीलाई जिम्मा लगाएको हो ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट तस्करी भएर आएको सय केजी सुन बरामद गरेयता १९ दिनको अनुसन्धानपछि विभागले सम्पूर्ण फाइल र सबुत सिआइबीलाई जिम्मा लगाएको छ । आफ्नो कानुनी क्षेत्राधिकार रहेको राजस्व चुहावटसहितका सबै विषय प्रहरीलाई जिम्मा लगाएपछि विभाग सुन तस्करीको अनुसन्धानबाट मुक्त भएको छ ।

इतिहासमै सबैभन्दा ठूलो अप्रेसन मानिएको सय केजी सुन तस्करीको अनुसन्धानका क्रममा संगठित अपराधसहितका धेरै विषय जेलिएपछि विभागको अनुसन्धान सुस्ताउन थालेको थियो । संगठित प्रकृति, उच्च तहका व्यक्तिहरूको संलग्नता र अन्तरदेशीय सम्बन्ध खुल्दै गएपछि विभागको सानो जनशक्ति, अनुसन्धान क्षमता र दक्षता, प्रविधिले धान्न कठिन भएको थियो । यसबीचमा विभागले केही प्रहरीको सहयोग लिएर अनुसन्धान अघि बढाए पनि प्रहरी संगठनसँगको संस्थागत समन्वयमा समस्या देखिएको थियो । यसैबीच, बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रकरणको अनुसन्धान प्रहरीलाई दिन निर्देशन दिएका थिए ।

संगठित अपराधमा अनुसन्धान प्रक्रिया सुरु भएको ६० दिनभित्र मुद्दा अभियोजन गरिसक्नुपर्छ । सोमबार अनुसन्धान प्रक्रिया सुरु भएको २० दिन भइसकेको छ । अबको ४० दिनभित्र सिआइबीले मुद्दा अभियोजन गरिसक्नुपर्छ ।

सुन तस्करी प्रकरणमा हालसम्म विभागले विभिन्न मितिमा १८ आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ नेपाली, एकजना चिनियाँ, एक भारतीय र एक तिब्बती मूलका बेल्जियमका नागरिक छन् । नेपालीहरूमा भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई, कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट, राजन श्रेष्ठ छन् ।

त्यस्तै, भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, सुरेन्द्र तामाङ र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन् । त्यस्तै, तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वान लिन र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ छन् ।

हिरासतमा रहेका उनीहरूलाई पनि विभागले प्रहरीको जिम्मा लगाएको छ । रुक्मिना सुब्बालाई भने कमजोर स्वास्थ्य अवस्थाका कारण जमानीमा छाडिएको छ । विभागले टोखा, लाजिम्पाट, सोह्रखुट्टे, बालुवाटारका विभिन्न गोदाममा छापा हानेर जफत गरेका सामग्री प्रहरीको जिम्मा लगाएको छ ।

Nabintech