• १४ बैशाख २०८१, शुक्रबार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ


काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान ‘जरुरी पक्राउ पूर्जी’ थमाएर निवासबाटै पक्राउ गरेको हो ।

अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बतायो ।

बुटवलमा रहेका खाँण मंगलबार मात्रै काठमाडौं आएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेका थिए ।

आर्थिक लाभ लिएर खाँणले गिरोहलाई सहयोग गरेको प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा भनेका छन् । खाँणलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली खटिएको थियो ।

खाँण पक्राउ गरेलगत्तै जडिबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले जरुरी पूर्जी थमाएको थियो ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए ।

यसै प्रकरणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् । उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएको छ ।

Nabintech