• १२ श्रावण २०८१, शनिबार
मेयर बालेनको निर्देशनपछि सिंहदरबारको फोहोर उठाउन बन्द


काठमाडों । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ ।

महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए । ‘हामीले सिंहदरबारको फोहोर उठाएर बञ्चरेडाँडा लैजान गरेका थियौं, मेयर साबले फोन गरेर बञ्चरेडाँडामा नलैजानु भनेपछि हामीले रोकेका हौं ।

फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक समेत रहेका घिमिरेका अनुसार सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उठ्ने गरेको थियो । सिंहदरबारबाट उठेको फोहोर ल्याण्डफिल साइट बञ्चरेडाँडा लैजाने गरेको घिमिरेले बताए ।

परिवर्तन सेवा प्रालिले सहरी विकास मन्त्रालय अन्तर्गत ठेक्का मार्फत सिंहदरबारको फोहोर उठाउँदै आएको थियो । फोहोर उठाउन सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले घिमिरेलाई फोन गरेर निर्देशन दिए पनि मेयर बालेनले ‘बञ्चरेडाँडामा सिंहदरबारको फोहोर जाँदैन, तपाईंहरुले नउठाउनुस’ भनेपछि आइतबारदेखि फोहोर रोकिएको हो ।

Nabintech