• १६ चैत्र २०८०, शुक्रबार
कांग्रेसमा मन्त्री बन्न शिर्ष नेताहरुको तीव्र लबिङ,देउवा निवास धुम्बाराहिमा सांसदको भीड


काठमाडौँ । सत्तामा जान पर्खाइमा रहेको नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदले लबिङ तीव्र पारेका छन् ।

राष्ट्रपति निर्वाचनले सत्ता समीकरण उलटपुलट भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने कांग्रेसको तयारी छ । राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । आठ दलीय गठबन्धनमा मन्त्रिपरिषद विस्तारबारे अनौपचारिक छलफल भइरहेको छ । बिहीबार प्रधानमन्त्री प्रचण्डलपनि मन्त्रिपरिषद विस्तारको गृहकार्य भइरहेको बताएका थिए । आठ दलीय गठबन्धनमा केन्द्र र सातै प्रदेशको सरकारका साथै संसदीय समिति सभापतिमा एकै पटक गठबन्धनभित्र सहमतिको तयारी छ ।

२५ सदस्यीय मन्त्रीमण्डलमा अहिले प्रधानमन्त्री, ५ मन्त्री र एक राज्यमन्त्रीको मात्र सहभागिता छ । प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री माओवादीबाट छन् भने जनमत पार्टीबाट एक मन्त्री सरकारमा सहभागी रहेको अवस्था छ । बाँकी १६ मन्त्री र ३ राज्यमन्त्री आठ दलीय गठबन्धनमा सम्बद्ध ६ दलका लागि भागबण्डा हुने छ । कांग्रेस, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा र जनमोर्चा सरकार बाहिरै छन् । सांसदको सङ्ख्याको अनुपातमा मन्त्रालय भागबण्डाको मापदण्ड बनाउनु पर्ने पक्षमा कांग्रेस छ । गृह वा अर्थ, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमा कांग्रेसको दाबी छ ।

कांग्रेसका सन्दर्भमा यसअघि एमालेले पाएको मन्त्रालय सङ्ख्यामा कम नहुने गरी गठबन्धनमा सहमति हुनेमा कांग्रेस नेताहरुको दाबी छ । यता जसपा र एकीकृत समाजवादीले तीन–तीन मन्त्रालयको दाबी गरेको गठबन्धनको छलफलमा सहभागी एक नेताले बताए । लोसपाले दुई मन्त्रालयको दाबी गरेको छ भने नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने अडानमा छ । यस्तै आठ दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सरकारमा सहभागी नहुने बताउँछन् । कांग्रेसले १६ मन्त्रालयमा १० मन्त्रालयको दाबी गरेको छ । तर कांग्रेसभित्र मन्त्री बन्न भने दुई दर्जन भन्दा बढी सांसदले लबिङ थालेका छन् ।

कांग्रेसमा उपसभापति धनराज गुरुङ, नेता प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्री किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, एनपी साउद, रमेश रिजाल, प्रदीप पौडेल लगायतका शीर्ष नेता मन्त्री बन्ने दौडमा देखिन्छन् । यस्तै उदयशम्शेर राणा, शंकर भण्डारी, सञ्जय गौतम, रामहरि खतिवडा, वीरबहादुर बालयर, सीता गुरुङ, श्याम घिमिरे, अजय चौरसिया, सरिता प्रसाईँ, आरजु राणा, दुलर्भ थापा, ऐनबहादुर शाही, कान्तिका सेजुवाल लगायका सांसदले पनि मन्त्रीका लागि लबिङ थालेका छन् ।

कांग्रेसमा नयाँलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ । देउवाको सचिवालयका अनुसार सत्ता समीकरण फेरिएपछि विहान र साँझको समयमा सांसदको भीड लाग्ने गरेको छ ।

Nabintech