• ७ बैशाख २०८१, शुक्रबार
एमालेकी विद्या भट्टराईलाई हराउँदै कांग्रेस सासंद भुसाल उपसभामुखमा विजयी


काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

को हुन पुष्पा भुषाल ?

अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भएकी उनले नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाएकी थिइन् ।
२०१७ साल फागुन १ गते जन्मिएकी भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुन् । उनी केही समय कानुन व्यावसायमा पनि सक्रिय भएर लागिन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन ।
त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन भुसाल ।

उनको पारिवारिक पृष्ठमूमि राजनीति हो । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन भुसाल । २०१७ सालमा पञ्चायत सुरु भएपछि काशीनाथ गौतम १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि संगै थिइन् ।

२०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाम्फेसँग पराजित हुन पुगेकी थिइन् । तत्कालीन वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी हुँदा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् ।
तुम्बाहाम्फेले राजीनामा दिएपछि रिक्त भएको सोही पदमा भुसालले अहिले फेरि उम्मेदवारी दिएकी हुन् । यो पटक उनलाई कांग्रेससहित पाँचदलीय गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

 

Nabintech