• १४ बैशाख २०८१, शुक्रबार
एसपीपीको नाममा सरकारलाई बदनाम गराउन खोजियो:कानुनमन्त्री शर्मा


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले अमेरिकाले अघि बढाउने भनिएको स्टेट पार्टनरसीप प्रोग्रामबारे कुनै किसिमको प्रस्ताव नै नआएको दाबी गरेका छन्।

प्रतिनिधि सभामा बुधबारको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने क्रममा उनले सरकारले कुनै पनि सम्झौता अघि नबढाएको दाबी गरे।

उनले प्रेम सुवासले सोधेको एमसीसीको प्रश्नमा जवाफ दिँदै उनले यसको जवाफ पनि दिएका हुन्। मन्त्री शर्माले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास भएको २ घन्टामै अमेरिकाले स्वागत गरेको भन्दै अस्वीकार गरेको भए आपत्ति जनाउनुपर्ने जवाफ दिए।

अमेरिकी सेना नेपाल नेपालको अनुमतिबिना आउन नसक्ने मन्त्री शर्माले दाबी गरे। नेपालले अनुमति नदिएसम्म आउन नसक्ने भन्दै उनले अहिले त्यो नेपालको अवस्था नभएको जिकिर गरे।

‘नेपाल सरकारको तर्फबाट कुनै पनि स्टेट पार्टनरसीप प्रोग्राम कहीँ कतै छैन। सरकारले यसलाई अघि बढाउन खोजेको छैन,,’ उनले भने, ‘यो सरासर झुट हो, गलत हो, सरकारलाई बदनाम गराउने प्रयास मात्र हो।’

उनले अमेरिकी सेना नेपाल आउने कुरा कल्पना पनि गर्न नसकिने दावी गरे। उनले अघि भने, ‘अमेरिकी सेना नेपाल आउने कुरा कल्पना गर्न नसकिने कुरा हो। स्टेट पार्टनरसीप प्रोग्रामबारे नेपाल सरकारले कुनै पनि निम्तो र प्रस्ताव राखेको छैन। हामीलाई पनि प्रस्ताव आएको छैन।’

उनले एसपीपी प्रोग्रामका नाममा नेपालीलाई मनको बाघले खाएको पनि जिकिर गरे। ‘एसपीपी प्रोग्राम कहीँ कतै छैन।’ उनले भने ‘हामीलाई वनको बाघले होइन, मनको बाघले नखाओस्।’

Nabintech