• २७ श्रावण २०७९, शुक्रबार
एक वर्षमै नेपाली आकाशमा अस्ताए रुकुमका पहिलो पाइलट उत्सव पोखरेल !


ताजा समाचार

काठमाडौं । आइतबार बिहान मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजमा रहेका १४ जनाको शव फेला परेको छ। बाँकीको खोजी कार्य जारी छ।

यो खबरले रूकुम पश्चिमको चौरजहारी नगरपालिका-३ लापुते गाउँ यतिबेला शोकमा डुबेको छ।

मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परेका २५ वर्षीय पाइलट उत्सव पोखरेल अब फर्केर आउने छैनन् भन्ने सुनेर लापुते गाउँ शोकमा परेको हो।

उत्सव चौरजहारीले पाएका पहिलो र एक मात्र पाइलट हुन्।गत वर्ष वैशाखमा तारा एयरमा आवद्ध भएका उनले फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेका थिए। दुर्भाग्य उत्सवले एक वर्षमात्रै नेपाली आकाशमा उडान भर्न पाए।

उत्सवका ठूला बुवाका छोरा दिवश पोखरेलका अनुसार उत्सवले कक्षा १० सम्मको पढाइ चौरजहारीकै भ्याली पब्लिक स्कुलबाट पूरा गरेका थिए।त्यसपछि काठमाडौंको भिएस निकेतनबाट प्लस टु गरेर पाइलट पढ्न फिलिपिन्स गए। फिलिपिन्समा पाइलट कोर्स पूरा गरेर उत्सव एक वर्षअघि स्वदेश फर्किएर तारा एयरको फर्स्ट अफिसर पाइलटका रूपमा काम सुरू गरेका थिए।

उत्सवका दाजु उमेश पनि हाल फिलिपिन्समा पाइलटको तालिम लिइरहेका छन्। बुवा मनिराम पोखरेल जाजरकोटको नलगाड नगरपालिकामा शिक्षा स्रोत व्यक्तिको रूपमा कार्यरत छन्। आमा उषा, दाङ तुलसीपुरको बिजौरीस्थित एक विद्यालयमा पढाउँछिन्। उनको माइती बिजौरी नै हो।

छोराहरूको सजिलोको लागि उनीहरूले दाङको बिजौरीमै घर बनाइरहेका थिए। उनीहरूको एउटा घर नेपालगञ्जको गणेशपुरमा पनि छ।

छोरा उत्सवले उडाएको जहाज सम्पर्कविहीन भएको खबर पाएपछि आमा उषा दाङबाट र बुवा मनिराम जाजरकोटबाट नेपालगञ्ज हुँदै आइतबार राति नै काठमाडौं पुगेका छन्। पोखरेल दम्पतीका दुई छोरा मात्रै हुन्। दुबै अविवाहित छन्।

दिवश पनि प्रायः नेपालगञ्जमै बस्ने हुँदा उत्सवसँग भेट भइरहन्थ्यो। नभए सामाजिक सञ्जालमा उनीहरू गफिन्थे।

‘बुढो भइस् त केटा बिहे कहिले गर्छस् भनेर जिस्किन्थें,’ दिवसले भने, ‘ऊ दाइकै बिहे भएको छैन, उहाँको पालो त मिच्नु भएन नि भन्थ्यो।’

पोखराको उडान सकेपछि उनले नेपालगन्ज आउने बताएका थिए।‘भेट्नुपर्छ दाइ भनेको थियो। अब ऊ कहिल्यै नभेटिने गरी गएछ,’ दिवशले भने।

पाइलट उत्सव भक्तपुरको लोकन्थलीमा डेरा गरी बस्दै आएका थिए। स्थानीय तहको निर्वाचन सकिएपछि सतिस आचार्य पनि हप्ता दिनदेखि उत्सवसँगै कोठामा बस्दै आएका थिए। सतिस उत्सवका फुपुको छोरा हुन्।

उत्सव र सतिस सँगै हुर्किएका हुन्। बुधबार दिउँसो १२ बजेतिर उत्सवलाई लिन अफिसको गाडी आयो।

‘उत्सवले आफ्नो क्यारियर ब्यागेज आफैं लिएर बाइ भन्दै गएको थियो,’ सतिसले सेतोपाटीसँग भने, ‘तर, ऊ कहिलै नफर्किने गरी गएको रहेछ।’बुधबारदेखि आइतबारसम्म उत्सवले प्लेन उडाउनु पर्थ्यो।

बुधबार पोखरा पुगेर बिहीबार त्यहीँ बसेर शुक्रबार, शनिबार र आइतबारका उडान भरेर भक्तपुरको लोकन्थलीस्थित डेरामा फर्किने उनको योजना थियो।

दुर्घटनाको अघिल्लो रात पनि उत्सव र सतिसबीच भिडिओ कुराकानी भएको थियो।

‘कोठामा बोर नहुनू, नआत्तिएर बस्नू। म दिउँसो दुई बजेसम्म कोठामा आइपुग्छु भन्दै थियो,’ सतिसले थपे, ‘तर ऊ त आउँदै आएन, उसले चलाएको प्लेन मिसिङ भएको कुरा पहिलो पटक सुन्दा रिंगटा लागेझैं भएको थियो।’

सतिसलगायत आफन्तले उत्सवलाई अलि ठूलो प्लेन उडाउन आग्रह गर्दा उत्सव करियर यसैमा रहेको भन्दै अझैं दुई-तीन वर्ष सानै प्लेनमा काम गरेपछि मात्रै त्यसबारे सोच्ने बताउँथे।

‘म उड्ने आकाश डेन्जर रूटमा पर्छ र मौसमले च्यालेञ्ज गरे जतिखेर पनि समस्या निम्तिन सक्छ,’ उत्सवसँगको कुरा सम्झदै सतिसले भने, ‘ऊ आफ्नो करियर मात्रै सोचिरहन्थ्यो।’सतिसकै शब्दमा पाइलट उत्सव निकै मिलनसार, सहयोगी थिए।

आफू उड्नुभन्दा पहिला सकभर उत्सव बुवा आमा र आफन्तलाई सम्झन्थे। उनले उडाएको प्लेन दुर्घटना परेको दिन बिहानै पौने ५ बजे उत्सवले बुवा मनिरामलाई भिडिओ कलमा कुराकानी गरेका थिए।

बुवा मनिरामले सेतोपाटीसँग भने, ‘उसले बिहान पौने पाँच बजे नै भिडिओ कल गरेको थियो। साढे पाँच बजे पोखरादेखि जोमसोम उड्दैछु भने पनि मैले शुभ यात्रा बाबु मात्र भनेको थिएँ।’

Nabintech