• १५ चैत्र २०८०, बिहीबार
ठूला दलका ठूला नेतालाई हराएर धरानको मेयर बनेका एक आममान्छे-हर्क साम्पाङ

कम्युनिस्टको गढ धरानमा स्वतन्त्र मेयर हर्क साम्पाङ कसरी उदाए ?



काठमाडौं । तपाईंको घर त भयो ! परिवार पनि भयो। तर, यो धरान कसको हो ? यो देश कसको हो ? यो नेपाल कसको हो ?

यो भारतले बनाउने हो? चीनले बनाउने होरु कसले बनउने नेपाल ? कसले जगाउने नेपाल ?  तपाईं हामी मिलेर बनाउने हो।’

हर्क साम्पाङले चुनावअघि टेम्पोछेउ उभिएर गरेको भाषणको अंश हो यो।  उनले ठूला मञ्च बनाएर भाषण गरेनन्। संभवै नहुने सपना देखाएनन्। समस्या र विकृति देखाए अनि आफूले समाधान गर्न सक्ने उपाय सुनाए।

यही वाचा उनलाई चुनाव जित्न पर्याप्त भयो। किनभने धराने जनता दलहरूको ‘झूटो आश्वासन’बाट हैरान भइसकेका थिए। उनको जित किन पनि महत्त्वपूर्ण भयो भने, उनले सत्ता गठबन्धन र धरानमा परम्परागत रूपमा बलियो मानिएको एमालेका ‘हेभिवेट’ उम्मेदवारलाई पराजित गरेका हुन्। साम्पाङले २० हजार ८२१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १६ हजार ५९ र एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाएका छन्।

हर्क साम्पाङ धरानबाहिरका नागरिकका लागि नयाँ नाम हुनसक्छ, तर धरानेहरूका लागि नयाँ होइनन्। उनी भ्रष्टाचार विरोधी अभियानदेखि सामाजिक विकृतिविरुद्ध हाते माइक बोकेर सडकमा आवाज घन्काउँदै हिँडेको धेरै भयो।

उनी यसपटक मात्र होइन, २०७७ सालको उपनिर्वाचनमा पनि धरानको मेयरमा उम्मेदवार बनेका थिए। तर, उनले सफलता पाउन सकेनन्। वास्तवमा उनको जमानत पनि जोगिएन। त्यति बेला साम्पाङले जम्मा ५४० मत पाएका थिए।

चुनावमा पराजय भए पनि उनको अभियान रोकिएन। उनी विकृति र विसंगतिविरुद्ध लडिरहे। अनि, ती विकृति र विसंगति रोक्न आफैं मेयर हुनुपर्छ भन्ने भावना झनै दरिलो भयो। र, फेरि उनी मेयरको उम्मेदवार भए।

साम्पाङले धरानको माटोलाई ‘ढोगेर’ चुनावी अभियान सुरु गरे। उनी टेम्पोमा एक्लै हिँड्थे। हरेक चोक र टोलमा रोकिन्थे। टेम्पोबाहिर उभिएर आफ्ना कुरा राख्थे। उनका भाषणमा धरानमा भइरहेका विकृतिका विषय हुन्थे। समस्या बताउँथे र समाधानको उपाय पनि भन्थे। चुनाव नजिकिँदै जाँदा उनलाई साथ दिने जनताको समूह पनि बढ्दै गयो।

साम्पाङले राजनीतिक पार्टीको उम्मेदवारजस्तो प्रचारमा अध्यधिक खर्च गरेनन्। उनी सामान्य आर्थिक अवस्था भएको परिवारका सदस्य हुन्। परिवार पाल्न संघर्ष गरेका छन्। त्यस क्रममा वैदेशिक रोजगारीमा पनि पुगे। त्यही भुईंमान्छे अहिले धरानको मेयर भएको छ, त्यो पनि कुनै दलको फेर नसमाती नै!

उनी मेयर बनेपछि फेसबुक पेजको नामजस्तै साम्पाङले धरानमा एउटा क्रान्ति पूरा गरेका छन्। जुन क्रान्ति उनले एक्लै सुरू गरेर वर्षौंसम्म एक्लै चलाएका थिए।

धरानेका दैनिक जनजीवनसँग जोडिएका सवाल उठाएर साम्पाङले ‘क्रान्ति’ थालेको १० वर्षअघि हो। धरान सहरको दायाँबायाँ बग्छन् सर्दु र सेउती खोला। उपमहानगर बनेपछि सर्दुपारिको विष्णुपादुका र सेउतीपारिको विजयपुर पनि धरानमै मिसिएका छन्।

दायाँबायाँ दुई खोला बग्ने भए पनि धरानवासीले किचनदेखि बाथरूमसम्म भनेजति पानी पाउँदैनन्। लाहुरेहरूको सहर भनिने धरानको पानीको तिर्खा पूरा नभएको वर्षौं भइसक्यो। कयौंपटक यो कुरा चुनावी एजेन्डा बनिसक्यो।

खानेपानी समस्यालाई साम्पाङले चुनाव लड्नुभन्दा धेरै पहिलेदेखि एजेन्डा बनाएका थिए। खानेपानी समस्या समाधान गर्न उपमहानगरले लिएका नीति गलत भएको भन्दै विरोध गरेका थिए।

खानेपानी मात्र होइन, धरानको बाटोघाटो, बिजुलीजस्ता आधारभूत समस्याबारे साम्पाङले वकालतसँगै दिनरात खटिएर अभियान नै चलाए। धरानको वैभव बनेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाएको बेथितिविरूद्ध उनले जवाफदेही निकायलाई तीखो भाषामा प्रश्न गर्दै आए। हरेक सार्वजनिक सेवाको स्तर सुधारका लागि दबाब दिए।

धरानमा भ्रष्टाचारविरूद्ध अभियान चलाउने पूर्व नगर उपप्रमुख कृष्णनारायण पालिखेको अभियानमा सहभागी भएका उनी पालिखेको निधनपछि आफैं अगुवा भए।

२०७२ सालमा धनकुटा रोड विस्तार गर्दा धेरै जनाको उठिबास लाग्ने भएपछि साम्पाङसहितका आन्दोलनकारीले अभियान चलाए। त्यही आन्दोलनले उनलाई धरानमा चिनाएको स्थानीय बताउँछन्।

उनी सामाजिक सञ्जालदेखि धरानका सडकमा हाते माइक बोकेर खानेपानी, प्राकृतिक स्रोत दोहन लगायत विविध मुद्दामा भाषण गर्थे। उनका त्यस्ता भाषण सुन्न धेरै मान्छे आउँदैन थिए। तर कसैले सुनोस् कि नसुनोस्, साम्पाङले आफ्ना कुरा निरन्तर भनिरहे।

‘जनतालाई मर्का पर्ने कुरामा उहाँ सधैं विरोधमा ओर्लिनुहुन्छ, त्यसका लागि एक्लै लड्नु किन नपरोस्,’ साम्पाङलाई लामो समयदेखि साथ दिँदै आएका समिर तामाङ भन्छन्, ‘जनताकै आवाज उठाउँदा उहाँलाई पटक(पटक प्रहरीले थुनेको छ। कुटेको छ। तर डराउने र थाक्ने स्वभाव उहाँको छैन।’

धरानका खोलानालामा ठेकेदारले जथाभावी उत्खनन गर्दा नगर नेतृत्व रमिते बनेको थियो। साम्पाङसहित केही मानिसले फिल्डमै गएर प्रतिरोध गरेका थिए। त्यस बेला उनका केही साथी घाइतेसमेत भए। खानेपानीको मुद्दा उठाउँदा उनलाई पाइप तोडफोड गरेको मुद्दामा थुना पनि पठाइएको थियो।

‘यी सबै कुरा हुँदा पनि उहाँले अभियान छाड्नुभएन,’ समिरले थपे।

आन्दोलनको भाषा बोलिरहेका साम्पाङलाई साढे दुई वर्षअघि लाग्यो( सधैं सडकमा बसेर मात्र समस्या समाधान हुँदैन। समाधान गर्ने ठाउँमा आफैं पुग्नुपर्छ।

उनी २०७६ मा धरानको उपनिर्वाचनमा उम्मेदवार बने। उनको उम्मेदवारीलाई मतदाताले पत्याएनन्। उनले ४२२ मत मात्रै पाए। एमालेको लालकिल्ला भत्काएर पहिलोपटक कांग्रेसका तिलक राई मेयर बने।

साम्पाङ फेरि सडकमै फर्किए। हाते माइक बोकेर भाषण गर्न थाले। त्यति बेला पनि उनी एक्लै थिए।

उनको एक्लो यात्रा वैशाख ३० को चुनावअघिसम्म जारी थियो।

अरू उम्मेदवारको घरदैलो अभियानमा हजारौंको लर्को लाग्थ्यो। साम्पाङ भने थोरै साथीहरूसँग चोकचोकमा भाषण गर्दै हिँड्थे।

दलका उम्मेदवारको भाषण सुन्न धरानभरिबाट गाडीमा मान्छे ओसारिन्थे। साम्पाङको भाषण सुन्न न स्रोता हुन्थे न ताली ठोक्न समर्थक। स्रोताविहीन चोकमा एक्लै उभिएर उनी आफ्ना कुरा राखिरहन्थे।

बाइक ‍र्‍याली, आमसभा साम्पाङको बुताबाहिरको विषय थियो। ठूला दलका उम्मेदवारहरूले ‍र्‍याली र आमसभा गर्न चिताए मात्रै पुग्थ्यो। सत्ता गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारहरू ठूला सभा र र्‍यालीमा व्यस्त रहँदा उनी भने काँधमा राष्ट्रिय झन्डा भिरेर मतदाता भेट्दै घरघरै लुसुलुसु पसिरहेका हुन्थे।

दलहरूका मञ्चमा कलाकारहरूको भीड लाग्थ्यो। साम्पाङका लागि भने चुनावी गीत गाइदिने अर्को गायक पनि थिएन। त्यसैले आफ्नै अटोमा जडित माइकमा गितार बजाएर उनी आफैं गीत गाउँथे। भाषण आफैं गर्थे। दलहरूका लागि चुनावी घोषणापत्र लेख्ने विज्ञहरूको टिम थियो। उनले आफ्नो प्रतिबद्धतापत्र आफैं लेखेका थिए, त्यो पनि बुँदागत रूपमा मात्रै।

स्थानीय निर्वाचनको माहोल सुरू भएपछि मौन अवधिको अघिल्लो दिनसम्म धरानमा देखिने दृश्य यही र यस्तै थियो।

मतगणनाको तेस्रो दिन पूरा भएपछि भने दलहरूको त्यो तामझामलाई धराने मतदाताले नपत्याएको संकेत आउँदै थियो। जब चौथो दिनको गणना सुरू भयो, हर्कले दलका सबै उम्मेदवारलाई पछाडि पारिदिए।

त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा धेरैले लेखे, ‘हर्कको भाषण सुन्न पनि नआएका धरानेले भोट जति सबै उसैलाई खन्याइदिएछन्।’

कांग्रेस, एमाले, माओवादी लगायत ठूला दलका नेता-कार्यकर्ताहरूले साम्पाङलाई ‘हल्का खुस्केको’ भनेर सधैं बेवास्ता गर्दै आएका थिए। चुनावमै पनि सबैजसो दलले ‘एक-दुई हजार भोट काट्ने’ आकलन गरेका थिए।

‘दलका मान्छेको नजरमा उहाँ खुस्केकै हो नि,’ धरान-९ का ४६ वर्षीय राजेश शर्मा भन्छन्, ‘उहाँ हरेक क्षण जनताकै समस्याका लागि दस वर्षदेखि लागेको लाग्यै हुनुहुन्छ। पार्टीका मान्छे चुनाव आउँदा मात्रै जनता सम्झिन्छन्। उहाँ दिनरात जनताको घरदैलोमा पुग्नुहुन्छ। यस्तो मान्छे देखेपछि दलहरूले खुस्केको भन्नु कुन नौलो हो र ? तर यसपटक उहाँ र धराने जनता मिलेर दलहरूको हावा खुस्काइदिएको चाहिँ हो।’

कुनै बेला एमालेले आफ्नो किल्ला ठान्ने धरानमा यसपटक एमाले तेस्रो भयो। २०७६ मा पहिलोपटक एमाले किल्ला तोडेकोमा खुसी भएको कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी साझा उम्मेदवारसहित चुनावी मैदानमा थिए। त्यही गठबन्धन पनि ठूलै मतान्तरले दोस्रो मात्रै भयो।

यसपालि स्थानीय चुनावमा धरानका साम्पाङ मात्र होइन, स्वतन्त्र उम्मेदवारी दिएका धनगढीका गोपाल हमाल र काठमाडौंका बालेन शाहलाई पनि जनताले पत्याएका छन्। दलका नेताहरूको दाँजोमा यी स्वतन्त्र उम्मेदवारलाई नै नगर प्रमुख बन्न योग्य ठानेका छन्। तर हमाल र शाहभन्दा साम्पाङ यस कारण भिन्न छन्, किनभने अघिल्ला दुई जना आ-आफ्नो क्षेत्रमा नाम कमाएका अनुहार हुन्। हमाल लोकप्रिय व्यवसायी हुन् भने शाह परिचित र्‍याप गायक हुन्। साम्पाङ भने सबै हिसाबले आममान्छे हुन्।

२०३९ सालमा खोटाङमा जन्मिएका हर्क साम्पाङ अहिले धरान-१८ बुद्धचोकमा बस्छन्। लाहुरेका छोरा उनले धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। कुनै बेला धरानमा ट्युसन पढाउने र कम्प्युटर सिकाउने साम्पाङले वैदेशिक रोजगारका सिलसिला झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताए।

उनको परिवारमा आमा, पत्नी र दुई छोराछोरी छन्। उनकी पत्नी घरैमा सानो किराना पसल चलाउँछिन्। उनले विदेशबाट फर्केपछि केही अटो किनेर भाडामा चलाउन दिएका छन्। उनको आम्दानीको स्रोत त्यही हो।

उनी झट्ट सुन्दा ‘इमोसनल’ लाग्छन्। जनतासँग सधैं नम्र भएर नहाँसी नबोल्ने उनी जवाफदेही निकायका जिम्मेवार व्यक्तिहरूसँग भने सधैं खरो रूपमा प्रस्तुत हुन्छन्। उनको यही स्वभाव र शैलीलाई स्थानीय मतदाताले विश्वास गरेका छन्। धेरै नवयुवा उनीबाट प्रभावित छन्।

‘आफूलाई सिद्धान्तनिष्ठ कम्युनिस्ट भन्नेहरू जनतालाई नमस्कारसम्म फर्काउँदैनन्। शक्तिमा भएकाहरूसँग ज्यू लगाएर बोल्छन्,’ धरान ४ का अनमोल राई भन्छन्, ‘उहाँ जनतासँग सधैं मीठो बोल्नुहुन्छ। समस्या मज्जाले सुन्नुहुन्छ। समाधानका लागि भिडेको भिड्यै गर्नुहुन्छ। हामीले खोजेको मेयर यस्तै हो।’

दस वर्षदेखि एक्लै धरानको सडकमा कराइरहेका साम्पाङको आवाजमा वैशाख ३० गते धरानवासीले आफ्नो आवाज मिसाएका छन्। वर्षौंदेखि आफ्नो कुराका लागि सडकमा बोलिरहेको मान्छेलाई यसपालि धरानेले मेयर बनाउने छन् भन्ने छनक चुनावअघि नै देखिएको थियो।

अन्ततः सबैलाई सरप्राइज दिँदै चुनाव जितेका साम्पाङ अब प्रश्न सोधिरहने भूमिकाबाट उत्तर दिइराख्नुपर्ने आसनमा पुगेका छन्। नागरिकको सूचनाको हकका लागि समेत निरन्तर आवाज उठाउँदै आएका उनी अब कसरी अघि बढ्छन्रु यो विषयलाई धरानमा धेरैले चासोका साथ हेरेका छन्।

धरानको मेयर चुनिएपछि सबभन्दा पहिले खानेपानी समस्या सुल्झाउन इमानदार पहल थाल्ने उनले बताएका छन्।

अहिले पनि धरान सहरमा खानेपानीको दैनिक माग अढाई करोड लिटर हाराहारी छ। दैनिक ५० देखि ६० लाख लिटर मात्र खानेपानी आपूर्ति हुने अवस्था छ। यो अवस्था दलहरूको मनपरीले ल्याएको ठहर उनको छ।

‘यहाँ दलहरूबाट निर्वाचित जनप्रतिनिधि एसीवाला कोठामा बसेर, एसीवाला गाडीमै हिँडेपछि जनताको समस्या भुल्छन्,’ हर्क भन्छन्, ‘म सबभन्दा प्राथमिक रूपमा धरानको खानेपानी समस्या समाधान गर्न लाग्नेछु।’

अहिले स्थानीय चुनावका धेरै जनप्रतिनिधि आफूले तलबभत्ता नबुझ्ने घोषणा गरिरहेका छन्।

साम्पाङ भने तलबभत्ता बुझ्ने बताएका छन्। ‘तलबभत्ता बुझ्छु, लिनैपर्छ,’ उनी भन्छन्, ‘तर त्यसभन्दा बाहिरको एक रूपैयाँ पनि मैले खाएको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार हुनेछु।’

उनले धरानको पर्यावरण जोगाउने, प्राकृतिक स्रोत दोहन रोक्ने, फोहर नियन्त्रण गर्ने योजनामा पनि ध्यान दिने बताएका छन्।

चुनाव जित्दै गर्दा उनी निकै विनयी भाकामा पेस भइरहेका छन्।

‘जुनसुकै दलबाट निर्वाचित भएर आएको भए पनि उसको ध्येय धरान राम्रो बनाउने हो,’ उनले भने, ‘राम्रो धरान बनाउन म सबैसँग हातेमालो गरेर अघि बढ्नेछु।’

आफू मेयर रहुन्जेल कुनै पनि धरानवासीको उठिबास नलगाउने उनले प्रण गरेका छन्।

‘विकास मान्छेका लागि हो भने सबभन्दा पहिला मान्छेलाई बाँच्न दिनुपर्छ भनेर त्यो आन्दोलन चलेको थियो,’ साम्पाङले भने, ‘म मेयर हुञ्जेल कम्तीमा जनताको उठिबास लगाउने काम गर्दिनँ। पहिलो कुरा जनताले बाँच्न पाउनुपर्छ। तिनै जनतालाई रूवाएर गरिने विकास अर्थहीन हुन्छ।’

 

 

Nabintech