• १३ बैशाख २०८१, बिहीबार
स्थानीय चुनावमा दाजुभाइको प्रतिस्पर्धा :भाइहरू जिते,दाइहरू हारे !


कोहलपुर । स्थानीय तहको निर्वाचनमा एकअर्काको प्रतिद्वन्द्वी भएर होमिएका सहोदर दाजुभाइबीचको प्रतिस्पर्धामा भाइहरू विजयी भएका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको २ वटा वडामा दाजुभाइबीच रोचक प्रतिस्पर्धा भएको थियो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, कोहलपुर नगरपालिकाको वडा नम्बर ३ मा दाजुभाइबीच प्रतिस्पर्धा भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१ को वडाध्यक्षमा दाइलाई हराउँदै भाइले जीत हात पारेका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका प्रमोद रिजाल ७८१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए ।

रिजालका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विनोद रिजालले ५८१ मत प्राप्त गरे । दोस्रो कार्यकालका लागि निर्वाचित भएका प्रमोद नगरको निवर्तमान प्रवक्ता समेत हुन् ।

‘वडामा गरेका राम्रा कामहरूको मूल्यांकन गरेर जनताले फेरि पनि मलाई जिताउनुभयो । हामीले आ–आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेकाले दाजुभाइको सम्बन्धमा कुनै वैमनस्यता छैन,’ उनले भने ।

बाँकेकै कोहलपुर नगरपालिका–३ मा सहोदर दाजुभाइ माधव रिजाल र तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुँदा भाइ माधव निर्वाचित भएका छन् ।

एमालेबाट उम्मेदवार बनेका माधवले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका तारकेश्वरलाई ४०७ मतान्तरले पराजित गरी अध्यक्षमा चुनिएका छन् । १ हजार ३०७ मत प्राप्त गरी माधव विजयी हुँदा तारकेश्वरले ९०० मत प्राप्त गरेका छन् ।

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष तथा नगरका प्रवक्ता हुन् । निर्वाचित भएपछि माधवले भने, ‘हामी दाजुभाइबीच यसअघि पनि प्रतिस्पर्धा भएको थियो, अहिले पनि भयो । मनमुटाव पहिले पनि थिएन, अहिले पनि भएन ।’

पार्टीले अगाडि सारेपछि दाजुभाइ प्रतिस्पर्धाबाट पछाडि हट्ने कुरा नहुने माधवको भनाइ छ । अघिल्लो निर्वाचनमा पनि तारकेश्वर भाइ माधवसँग ६५ मतले पराजित भएका थिए ।

दाजुभाइबीच चुनावी प्रतिस्पर्धा हुँदा आमाले कुन छोरालाई भोट हाल्ने भनेर धर्मसंकटमा परेको बताएकी थिइन् ।

Nabintech