• १८ आश्विन २०८१, शुक्रबार
नेपाल प्रहरीमा को बन्ला नयाँ आईजीपी ?

 पोखरेल, थापा, सिंह र धानुक आईजीपी बन्ने प्रतिस्पर्धामा



 

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर २०७९ वैशाख १८ मा मा अवकाश जाँदैछन् ।

उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । नेपाल प्रहरीको कमाण्ड समाल्न ४ जना अतिरिक्त महानिरीक्षक ९एआईजी० प्रतिस्पर्धामा छन् । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुक आईजीपी बन्ने प्रतिस्पर्धामा छन् ।

आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।

२०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको वरीयता अनुसार विश्वराज अरू प्रतिस्पर्धी भन्दा १६ महिना सिनियर छन् । सहकुल बहादुर थापा एआईजी भएको ९ महिना पुरा भएको छ । सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुग्दैछ ।

चुनाव भन्दा १० दिनअघि सरकारले कसलाई आईजीपी नियुक्त गर्छ भन्नेबारे आम चासो छ । सरकारसँग दुईवटा विकल्प छ । वरीयताको आधारमा नियुक्त गर्ने वा नेतृत्व प्रदान गर्ने कुशलता र आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने व्यक्तिलाई प्रहरीको कमाण्ड सुम्पिने ।

प्रहरी नियमावली–२०७१ को नियम ४१ ले आईजीपीबारे ज्येष्ठता, वरीयता र कार्यसम्पादनलाई मूर्त रूपमा व्याख्या गरेको छ । तर, नेतृत्व क्षमता, मातहतलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमताको आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई नियुक्त गर्न सक्ने व्यवस्था अमूर्त रहेको छ ।

तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताप राणा सहित ६ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले ज्येष्ठता मात्र बढुवाको मुख्य आधार नभएको फैसला गरेको थियो । त्यस्तै, २०७३ मा तत्कालीन डिआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतको वृहद पूर्ण इजलासले आईजीपी नियुक्तिमा ज्येष्ठता र वरिष्ठताको खास महत्त्व हुने र त्यसलाई प्राथमिकताका साथ महत्त्व दिनुपर्ने फैसला गरेको थियो । २०७३ चैत ८ मा सर्वोच्चले गरेको फैसलामा भनिएको छ–‘वरिष्ठतालाई स्थान दिनु प्रहरी संगठनको चेन अफ कमाण्ड कायम राख्न पनि आवश्यक हुन्छ ।’

आईजीपीको प्रतिस्पर्धी एआईजीहरूले सबैभन्दा धेरै अपराध हुने काठमाडौँ उपत्यकालाई नजिकबाट बुझेका छन् । विश्वराज पोखरेल र रवीन्द्र बहादुर धानुकले एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड गरेका थिए ।

आईजीपी हुनका लागी कासमु किर्ते गरेको आरोपमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन डिआईजी नवराज सिलवाललाई मुद्दा चलाएको थियो । सो मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन आनाकानी गरेपछि धानुकलाई हटाएर उनको ठाउँमा पोखरेललाई सरुवा गरिएको थियो । २०७४ माघ अन्तिम साता धानुकको सङ्घीय प्रहरी इकाई कार्यालय बागलुङमा सरुवा भयो । पोखरेलले सो मुद्दाको अनुसन्धान गरेर राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाए ।

एसपीमा पोखरेलले मोरङ जिल्ला कमाण्ड गरेका थिए । डिआईजीमा उनले काठमाडौँ उपत्यका प्रहरी कार्यालयको कमाण्ड गरे । धानुकले काभ्रे, सर्लाही र रुपन्देही जिल्ला कमाण्ड गरेका थिए । डिआईजी भएर उनले लुम्बिनी प्रदेशको कमाण्ड गरेका छन् ।

वरीयताको दोस्रो नम्बरमा रहेका सहकुल बहादुर थापा र तेस्रो वरीयताका धिरज प्रताप सिंहले तत्कालीन अपराध महाशाखा हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए ।

२०७५ साउन २१ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यतिबेला धिरज सिंह महाशाखाको प्रमुख थिए । प्रहरी उपरीक्षक हुँदा सिंहले दाङ जिल्लाको कमाण्ड गरेका थिए । डिआईजी भएर सिंहले मधेस प्रदेश कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको कमाण्ड गरेका छन् ।

सहकुल थापाले सिन्धुपाल्चोक र काभ्रे जिल्लाको कमाण्ड गरेका छन् । महानगरीय अपराध महाशाखामा बस्दा थापाले बैंक ह्याक गरेर चोरीमा संलग्नहरूको जालो तोडेका थिए । डिआईजी भएपछि उनले केन्द्रीय अनुसन्धान ब्युरोमा काम गरेका छन् ।

 

Nabintech