• ७ बैशाख २०८१, शुक्रबार
६ महानगरमा भागबन्डा गर्दै सत्तारुढ दल, कुन महानगरमा कुन दलको दाबी ?


काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेतासहितको बैठक बालुवाटारमा जारी छ ।

बैठकले आजै उपमहानगर र महानगरपालिकाको भागवण्डा टुङ्ग्याउने तयारी गरेको छ । अहिलेसम्म दलहरुले औपचारिक रुपमा आ–आफ्नो दाबी राख्ने क्रम सकिएको छ ।

गठबन्धनका साझेदार दलले जितेका पालिका उनीहरुले नै पाउने र एमालेले जितेका पालिकामा भागबन्डा गर्ने सैद्धान्तिक छलफल यसअघि नै गरिसकेको छ। बैठकबाट ६ महानगर र ११ उपमहानगरमा कुन दलको प्रमुख र कुन दलको उपप्रमुख समेतको टुंगो लगाउने तयारी छ।

एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व मागेको छ । यस्तै नेकपा एसले बुटवल, हेटौंडा र इटहरी उपमहानगरपालिकामा पनि आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरेको छ । जनता समाजवादी पार्टीे जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व दाबी गरेको छ भने विराटनगर महानगरपालिकाको उपप्रमुख मागेको छ ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै बाराको जितपुर–सीमरा र दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व दाबी गरेको छ । दावीकर्ता दलहरुले नै कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिन प्रस्ताव गरेको स्रोतले बताएको छ ।

काठमाडौं

काठमाडौं महानगरपालिका एमालेले जितेको हो। काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर मेयरमा विजयी भएका थिए। शाक्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए। मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४३९ मत र साझाका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए। माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९०६ मत, नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए।

कांग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत ल्याएका थिए। उनलाई एमालेको साथ थियो। माओवादी केन्द्रकी सुशीलाकुमारी पौडेलले १० हजार ४४८ मत, नयाँ शक्तिकी सविना अर्याल दवाडीले ३ हजार ४९४ मत र साझाकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५३३ मत ल्याएकी थिइन्।

गठबन्धनको भागबन्डामा अरुले दाबी गरेपनि राजधानीको महानगर कांग्रेसले आफूसँगै राख्न जोडबल गर्नेछ। यसअघि उपप्रमुख जितेको दाबी छँदैछ। काठमाडौंमा स्वतन्त्र उम्मेदवारसमेत हावी हुने गरेका छन्। स्वतन्त्रले जित्ने नै सम्भावना कम रहेपनि दलको अंकगणित भने बिगार्ने गरेका छन्। यसपल्ट बालेन शाह, सुनिता डंगोल, रमेश खरेल आदिले स्वतन्त्र उम्मेदवारी दिने बताइरहेका छन्।

ललितपुर

ललितपुरमा यसअघि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो। मेयरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६४२ मत ल्याएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यन्जनकारले २४ हजार ३१६ मत पाएका थिए। महर्जन र ब्यन्जनकारबीच मतान्तर ३२६ मात्र थियो।

माओवादीका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए। ललितपुरमा कांग्रेसलाई गठबन्धनले सहयोग गर्दा एमालेका लागि कठिन देखिन्‍छ। गएको निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका व्यन्जनरकार यसपल्ट दोहोरिने निश्चित भएको छ। माओवादी समेत विभाजित रहेकाले जित्ने आकलन उनको देखिन्छ।

भरतपुर
भरतपुरमा माओवादी केन्द्रबाट मेयरमा रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन्।

भरतपुरको मेयरको मत हेर्दा कांग्रेस र माओवादी दुबैको जोड्दा पनि एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो। यसरी हेर्दा माओवादीले एकल रुपमा भरतपुरको मेयर जित्ने सम्भावना छैन। कांग्रेससहितका दलसँग चुनावी तालमेल गरेर माओवादीले मेयर पाएमा पनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ। यसपल्ट चितवनका कांग्रेसमा असन्तुष्टि चुलिएको छ।

चितवन कांग्रेसले मागेको उम्मेदवारको सूचीमा २५ जनाले नाम दर्ता गराएका छन्। गठबन्धनमा आउने सम्भावित दरारलाई ख्याल राख्दै एमालेले विजय सुवेदीलाई अघि सारेको छ। विभाजनको न्युन असर रहेका कारण पनि सुवेदीको उम्मेदवारी गठबन्धनलाई सहज नहुने आंकलन गर्न थालिएको छ। माओवादी केन्द्र, त्यसमा पनि रेणु दाहालले नै प्राप्त गर्दा जित सुनिश्चित भने देखिँदैन।

यसअघि दाहालले चुनावी मतपत्र च्यातेर जितेको आरोप छ। त्यो आरोप नपखालिएकाले माओवादीका अन्य उम्मेदवार उठ्दा पनि त्यसको नोक्सानी उसले बेहोर्नुपर्नेछ।

यसअघि भरतपुरमा राप्रपाले पनि राम्रै मत पाएको थियो। राप्रपाका बद्रीनाथ तिमिल्सेनाले ६ हजार ८४२ मत ल्याएका थिए भने उपप्रमुख रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन्। अहिले राप्रपा विभाजित छ। एक समूहले एमालेलाई सघाउने बताइरहेको छ।

पोखरा
२०७४को निर्वाचनमा पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। यस्तै, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्। माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो। ढकाल उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्।

माओवादी केन्द्रले सघाउँदा यसअघिको निर्वाचनमा एमाले र कांग्रेसको मतान्तर १३ हजार ७०२ छ। अहिले एमाले विभाजन भएकाले त्यसको असर स्थानीय निर्वाचनमा पर्ने आकलन छ। पोखरा महानगर गठबन्धनमा नेकपा एकीकृत समाजवादीले दाबी गरिरहेको छ। गठबन्धनका सवै दलले नेतृत्व पाउने अवस्था रहँदा समाजवादीले प्राप्त गर्ने बलियो सम्भावना रहेको महानगर पनि यही मात्र हो।

विराटनगर

विराटनगरमा कुल मतदाता २ लाख १८ हजार ५२६ छन्, जसमध्ये महिला १ लाख ११ हजार ८५२ र पुरुष १ लाख ६ हजार ६७४ छन्। २०७४ को निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए। उपमेयरमा एमालेले विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेको थियो। माओवादी केन्द्र र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो, जसमा फोरमबाट मेयरको उम्मेदवार रहेका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए।

सत्ता गठबन्धनभित्र विराटनगर कांग्रेसकै भागमा पर्ने सम्भावना छ। कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले सघाउँदा पुनः मेयर र उपमेयर जित्ने सम्भावना देखिन्छ। तर कांग्रेसको स्थानीय महानगर कार्य समितिले कुनैपनि पदमा अन्य दललाई भाग नदिने निर्णय गरिसकेको छ। स्थानीयस्तरमा अन्य दलले छुट्टै गठबन्धन गर्ने प्रयास जारी राखेका छन्। उक्त महानगरमा गठबन्धनका अन्य दलभन्दा जसपाको दाबी बलियो छ।

वीरगञ्ज

वीरगञ्जको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५३० मत ल्याएकी थिइन्। तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा०का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १६५ मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६६३ मत ल्याएकी थिइन्।

सरावगी अहिले एमाले प्रवेश गरेका छन्। तेस्रो स्थानमा रहेका राजेशमान सिंह जसपामा पुगेका छन्। गएको निर्वाचनमा कांग्रेससँग जसपाको मतान्तर १९६ मात्र थियो। त्यसमा पनि विजयी उम्मेदवार नै अर्को पार्टीमा पुगेकाले कांग्रेसले छाड्न चाहँदैन। तर गठबन्धन कायम राख्ने सहमति गर्दा जसपालाई नै दिनुपर्ने बाध्यता छ। गठबन्धनबाट सिंह उम्मेदवार बन्दा एमालेबाट भने सरावगी पुनः मेयरको उम्मेदवार हुने लगभग पक्का छ।

 

 

 

Nabintech