• ११ बैशाख २०८१, मंगलवार
सत्तागठबन्धनले महानगर र उपमहानगरको उम्मेदवार सोमबारसम्म टुंगो लगाउने


काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा उठाउने उम्मेदवारबारे भोलिसम्म टुंगो लगाउने भएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकले सोमबारभित्र उम्मदेवार तय गर्ने सहमति गरेका छन्।

‘भोलिसम्म महानगर र उपमहानगरको उम्मेदवार टुंगो लाग्छ,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भन्यो, ‘निर्वाचन तयारी र गठबन्धनका अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय भएको छ।’

पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुंगो लगाउने तयारी छ।

सत्तागठबन्धनले वैशाख ३० मा हुने स्थानीय चुनावमा ६ महानगर र ११ उपमहानगर भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन्। तर कहाँ कसले उम्मेदवारी दिने निर्णयमा भने सत्तागठबन्धन पुगेको छैन। गत चैत १७ मा बसेको गठबन्धन बैठकले स्थानीय चुनावमा चुनावी तालमेल गर्ने निर्णय गरेका थिए।

महानगर र उपमहानगरका लागि दाबी गर्दै गठबन्धनमा विभिन्न दलबाट आकांक्षीका नामहरू सिफारिस भएर आउन थालेका छन्।

सत्तागठबन्धनको केन्द्रले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने सहमति बनेको थियो। यस्तै गठबन्धनका दलहरूका प्रतिनिधि रहेको प्रदेश र जिल्लामा पनि संयन्त्र बनेका छन्।

Nabintech