• १२ श्रावण २०८१, शनिबार
कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिन्नः प्रचण्ड


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने,नहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने बताएका छन् ।

बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको बताए । आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै उनले भने, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ ।’

तालमेलबारे नेपाली काँग्रेसका केही नेताको टिप्पणीबारे पनि प्रचण्डले असन्तुष्टि जनाए । ‘नेपाली काँग्रेसका केही नेताहरू भन्ने गर्छन् नि माओवादीसँग कुनै हालतमा तालमेल गरिँदैन । हुनै सक्दैन भन्ने ढङ्गले असाध्यै अतिवादी ढङ्गबाट बोल्ने केही नेता देखिनुभएको छ’, प्रचण्डले थपे, ‘हुन त प्रधानमन्त्रीले उहाँहरूलाई अब बोल्न बन्द गर भनिसक्नुभएको छ ।

काँग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन । तर नेतृत्व मुख्यतः प्रधानमन्त्री यो गठबन्धन हर हालतमा बचाएर लैजानुपर्छ, मिलेरै जानुपर्छ भन्नेमा भएकाले मैले भनेजस्तो अवस्था आउला भन्ने मैले देखेको छैन ।’

Nabintech