• १३ बैशाख २०८१, बिहीबार
कांग्रेस पदाधिकारीमा देउवाको बहुमत,१३ मध्ये सात पदाधिकारी देउवा प्यानलबाट निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति दोहोरिएका शेरबहादुर देउवालाई पदाधिकारीमा बहुमत पुगेको छ । १३ मध्ये सात पदाधिकारी उनको प्यानलबाट निर्वाचित भएका छन् ।

उपसभापति पूर्ण खड्का, सहमहामन्त्रीहरू भिष्मराज आङ्देम्बे (जनजाति), महालक्ष्मी उपाध्याय डिना (महिला), महेन्द्र यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम) र किशोरसिंह राठौर (खसआर्य) देउवा प्यानलबाट विजयी भएका हुन् । कोषाध्यक्ष मनोनित हुने भएकाले देउवाले अझै पदाधिकारी बढाउन सक्छन्न् ।

तर सभापति पछिको कार्यकारी पद महामन्त्रीमा भने देउवा निकट उम्मेदवारले जित्न सकेनन् । दुईमध्ये एक महामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई देउवाले छोडेका थिए । सिटौला समूहबाट उम्मेदवार बनेका प्रदीप पौडेल र देउवा समूहका डा. प्रकाशशरण महत महामन्त्री बन्न सकेनन् ।

पौडेल र महतलाई डा. शेखर कोइराला प्यानलका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्माले पराजित गरे । सभापतिको सहयोगी पद मानिने उपसभापतिमै देउवाका उम्मेदवार बिजय गच्छदारले जित्न सकेनन् । गच्छदार, शेखर प्यानलबाट उम्मेद्वार बनेका धनराज गुरुङसँग दुई मतले पराजित भए ।

अर्थात्, ८ मध्ये ५ सहमहामन्त्री जितेकाले पदाधिकारीमा देउवाको बहुमत देखिएपनि उपसभापति र महामन्त्रीमा इतर समूहका नेताहरू निर्वाचित भएका छन् । शेखरको प्यानलबाट उपसभापति गुरुङ र महामन्त्री थापासँगै सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट बद्री पाण्डे र दलित क्लस्टरबाट जीवन परियार निर्वाचित भए । उपसभापति र महामन्त्रीसहित चार पदाधिकारी शेखर प्यानलबाट आएका छन् ।

सिटौला निकट उमाकान्त चौधरी थारु क्लस्टरबाट समहामन्त्री निर्वाचित भएका छन् ।

Nabintech