निर्मला कुर्मीको मृत्यु ‘भारतमा कालगतिले नै भएको’ प्रहरीको दाबी


काठमाडौं। बाँकेबाट बेपत्ता पारिएकी निर्मला कुर्मीलाई न्याय दिलाउन स्थानीयको आन्दोलन जारी रहेका बेला प्रहरीले भने ‘भारतमा कालगतिले उनको मृत्यु भएकोु दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका नायब उपरीक्षक मधुसुदन न्यौपानेले नेपालगन्ज उपमहानगरपालिका–१७ की कुर्मीको कालगतिले नै मृत्यु भएको तथ्य फेला परेको जानकारी दिए।

उनका अनुसार निर्मलाले नेपालगन्जबाट करिब २५ किलोमिटर पर भारतको जगन्नाथपुर बस्ने अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेकी थिइन्।

निर्मलाले २०६८ सालमा दोस्रो विवाह गरेर भारत गएको प्रहरीको दाबी छ। उनको पहिलो श्रीमान महालु कुर्मी २०६२ सालमा बितेका थिए। त्यसपछि २०६६ सालमा उनका दुई बच्चाको पनि दस दिनकै अन्तरमा मृत्यु भएको थियो, जसको पोस्टमार्टम गर्न पूर्वसभासद बादशाह कुर्मीले नदिएको आरोप छ।

श्रीमान र दुई जना बच्चाको मृत्युपछि कुर्मी कामको सिलसिलामा भारत गएको प्रहरीले जनाएको छ। प्रहरीले निर्मलाको मृत्युपछि दाहसंस्कार गर्न लग्दाको तस्बिर, मृत्यु दर्ता र आधार कार्डसमेत फेला पारेको न्यौपानेले जानकारी दिए। कागजातमा उल्लेख भएअनुसार उनको मृत्यु २०७६ चैत १४ गते भएको देखिन्छ।

जिल्ला अदालत बाँकेले सोमबार यो मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि ६ जना प्रहरी कार्यालयमा आइपुगेका थिए। कार्यालयमा ८ जनाविरूद्ध जाहेरी परेको थियो। पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, वीरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह छन्। बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाडेको थियो।

मुख्य अभियुक्तका रूपमा रहेका पूर्वसभासद बादशाह कुर्मीलाई भने सरकारी वकिल कार्यालयले हाजिर जमानीमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छ सदस्यीय समिति समेत गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

निर्मला कुर्मी र नकुन्नी धोबीको मृत्यु भएको घटनामा न्याय माग गर्दै रूबी खान लगायत अभियन्ताहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए। कुर्मीका छिमेकी तथा स्थानीयहरू रूबीको नेतृत्वमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौंको माइतीघरमा धर्ना दिन आएका थिए। यहाँ आएर रूबी १२ दिन अनसन पनि बसिन्।

 

Nabintech