प्रधानन्यायाधीश जबराद्वारा ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहकर्मी न्यायाधीशहरूसमक्ष सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका छन् ।

उनको राजीनामा मागिरहेका न्यायाधीशहरू आइतबार पनि छलफलमा बसिरहेका बेला प्रधानन्यायाधीश जबराको प्रस्ताव न्यायाधीश मनोज शर्मामार्फत पुगेको थियो ।

यस्तो प्रस्ताव आएपछि न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्माको तिन सदस्यीय वार्ता टोली गठन गरी प्रधानन्यायाधीशसंग छलफलका लागि सोमबारका लागि बोलाइएको छ ।

सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले संवैधानिक न्याय प्रणालीलाई नेतृत्व दिन नसकेको, न्यायिक क्षेत्रको नेतृत्वकर्ताका रूपमा जबराको विश्वसनीयतामा ह्रास आएको र त्यसले अदालतप्रतिको जनआस्थामा समेत गम्भीर प्रभाव पारेको भन्दै न्यायपालिकाको नेतृत्वकर्ताको रूपमा उनको निरन्तरता उपयुक्त नभएको बताउँदै आएका छन् ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन, पूर्वन्यायाधीश फोरम, संवैधानिक कानून व्यवसायी मञ्ज जस्ता न्यायिक क्षेत्रका संघसंस्थाहरू एक भएर प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका छन् ।

आइतबार नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।

Nabintech