सत्ता गठबन्धनमा मन्त्रालय बाडफाँड: कांग्रेसलाई ८, एकीकृत समाजवादी र जसपालाई ४/४ वटा


काठमाडौं । सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डा टुंगिएको नेताहरुले बताएका छन् ।

मंगलबार विहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याएका हुन् ।

बुधबार भागबण्डा अनुसार कुन–कुन मन्त्रालय लिने भनेर अन्तिम रुप दिने र बिहीबार घटस्थापनाको दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

शीर्ष नेताहरुबीच भएको छलफल अनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कुल ८ वटा मन्त्रालय पाउनेछ ।

अहिले गृह, परराष्ट्र र कानून मन्त्रालय लिइसकेको उसले अब सञ्चारसहित पाँचवटा मन्त्रालय लिनेछ । कांग्रेसले पाउने सबै मन्त्रालय टुंगो लागेपछि मन्त्रीबारे बुधबार आफ्नो दलमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

अर्थ र उर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रको भागमा कुल ५ वटा मन्त्रालय परेको छ । मन्त्रीहरुको टुंगो लगाउन माओवादीले बुधबार दिउँसो एक बजे स्थायी कमिटी बैठक बोलाएको छ । तर आकांक्षी धेरै भएकाले छान्न सहज छैन ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने समान चार÷चार मन्त्रालय पाउनेछन् । जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने लगभग टुंगो लागेको नेताहरु बताउँछन् ।

एकीकृत समाजवादीले बिहीबार सपथ अघि मात्र मन्त्रीहरुको टुंगो लगाउने बताएको छ । यद्यपि एकीकृत समाजवादी प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको नेतृत्वमा जाने सम्भावना छ ।

यस्तै जसपाले मन्त्रीहरुको नाम टुंगो लगाउन बुधबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । एक नेताका अनुसार सत्तारुढ दलहरुबीच राज्यमन्त्री र उपसभामुख पद पनि भागबण्डा भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री लिनेछन् भने जसपाले उपसभामुख पाउने लगभग सहमति भएको छ ।

Nabintech