माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पायो दलको मान्यता

सनाखत भने ५६ केन्द्रीय सदस्य र ३० सांसदको मात्रै



काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ।

निर्वाचन आयोगले बुधबार राति नेकपा ९एकीकृत समाजवादी० लाई दलको रुपमा दर्ता गर्दै प्रमाणपत्र दिएको हो। आयोगका अनुसार एकीकृत समाजवादीको दल दर्ता नम्बर १६६ रहेको छ।

एकीकृत समाजवादी नेता रामकुमारी झाँक्रीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेको जानकारी दिइन्।

निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिनुअघि बुधबार यो पार्टीमा आबद्ध भएका साविक एमालेका केन्द्रीय सदस्य र सांसदहरुलाई आयोगमा सशरीर उपस्थित भएर सनाखत गर्न समय दिएको थियो।

नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि माधव नेपालसहित एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसद्ले निर्वाचन आयोगमा पुगेर सनाखत गराएका थिए।

एमालेका अन्य ४ जना सांसदहरुले समेत नयाँ पार्टीको पक्षमा रहेको भनेर निवेदन दिए पनि आयोगले उनीहरुलाई भने सनाखतमा समावेश गरेन

दल दर्ताको निवेदनका बेला उनीहरुको नाम र हस्ताक्षर नभएकाले उनीहरुको सनाखत हुन नसकेको हो । दिल्लीमा रहेका झलनाथ खनालको भने सनाखत भएको छ ।

प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, समानुपातिक सांसद माया ज्ञवाली र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले दल विभाजनमा सनाखत गर्न पाएनन् ।

पाण्डे शुरुमा एमाले एकता अभियानमा थिए । माधव नेपालका सम्धी भएकाले उनी अन्तिममा एकीकृत समाजवादीमै लाग्ने भनेर आयोगमा गए पनि यसअघि निवेदनमा नाम नभएकाले आयोगले सनाखत गर्न नमानेको हो ।

त्यस्तै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई, केन्द्रीय सदस्य विक्रम शाही र रामप्रित पासवानको पनि सनाखत हुन सकेन । तर उनीहरु एकीकृत समाजवादीको केन्द्रीय समितिमा छन् ।

सनाखत भएको संख्या मात्रै हेर्दा माधव नेपालको नयाँ दलले केन्द्रीय कमिटिमा २० प्रतिशत भन्दा धेरै पुर्‍याएको छ भने संघीय संसदमा भने १ जना सांसद अपुग हुँदा २० प्रतिशत पुग्न सकेन । तर, अध्यादेशको व्यवस्था अनुसार दुई मध्य एउटामा २० प्रतिशत पुग्ने भएकाले निर्वाचन आयोगबाट एकीकृत समाजवादीले नयाँ दलको मान्यता पाउने सम्भावना छ ।

Nabintech