• ११ बैशाख २०८१, मंगलवार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् ।

नवौं अधिवेशनको चौथो बैठकमा सभामुख घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रक्रिया अघि बढाएका थिए ।

प्रदेशसभा बैठकमा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत खसेको हो । उक्त मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

प्रदेशसभामा रहेका ८० सदस्यमध्ये ४२ जनाले उनलाई विश्वासको मत दिए । विपक्षमा भने कुनै पनि मत परेन । केसीलाई नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिह्नबाट चुनाव लडेका विवादास्पद अजय शाही र विमला वलीले उनको पक्षमा मतदान गरेका हुन् । प्रतिपक्षको रुपमा प्रदेशसभामा सहभागी भएकी तारा जीसीले पनि मुख्यमन्त्रीका पक्षमा मतदान गरेकी छन् । सभामा सहभागी भएकी उपसभामुख कृष्णी थारु भने तटस्थ रहिन् ।

प्रस्तावको विपक्षमा मत खसेन भने एक जना तटस्थ रहे । प्रमुख प्रतिपक्ष नेकपा एमाले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठकमा सहभागी नभएका कारण सो प्रक्रियामै सामेल भएन ।
मुख्यमन्त्री केसीले नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकारको नेतृत्व गरेका हुन् ।

Nabintech