प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५, विपक्षमा ८३ मत मात्रै


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् ।
सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहेको छ । कुल १ सय ४९ सासंद मतदानमा सहभागि भएका थिए ।

आइतबार राति भएको मतदानमा सभामुख अग्नि सापकोटाले देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् । प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।

एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमालेले नेताले देउवालाई मत दिएका थिए । माधव नेपाल पक्षका २३ सांसद थिए । यी मध्ये झलनाथ खनाल दिल्लीमा उपचाररत छन् । नेपाल पक्षका बाँकी २२ मध्ये माधव नेपालसहित १४ जनाले देउवाको पक्षमा मतदान गरे । यस्तै देउवालाई माधव नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपानेले मतदान गरेका छन् ।
सर्वोच्चमा हस्ताक्षर गर्नेमध्येका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले कतैपनि मत दिएनन् ।
केपी ओली पक्षका आठ सांसदले देउवाको पक्षमा मत दिएका छन् । देउवाको पक्षमा मत दिने ओली निकट सांसदहरुमा प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी छन् ।

 

Nabintech