• ७ बैशाख २०८१, शुक्रबार
जातिय भेदभाव: अन्तरजातीय विवाह गरेको जोडी २१ दिनदेखि जंगलमा लुकेर बस्दै


काठमाडौँ । कैलालीमा अन्तरजातीय विवाह गरेको एक जोडी झण्डै एक महिनादेखि जंगलमा लुकेर बस्न बाध्य रहेको सार्वजनिक भएको छ ।

कैलालीको भजनी नगरपालिका ४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन् ।

उनीहरु फाटट्फुट्ट गाउँमा आएपनि जंगलमा लुकेर बस्ने गरेको युवकका आफन्तले बताएका छन् । विवाह गरेलगत्तै युवतीका आफन्तले युवकलाई मारिदिने, घर जलाई दिने चेतावनी दिएपछि उनीहरु जंगलमा बस्न बाध्य भएका हुन् । युवतीका आफन्तले रुकुम हत्याकाण्डजस्तै मारिदिने चेतावनी दिएपछि युवक त्रसित भएका हुन् ।

कैलालीकै एक जंगलमा लुकेर बसिरहेका उनीहरुले जंगलबाटै आफूहरु समस्यामा परेको भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा युवा युवतीले आफूहरुलाई मार्ने धम्की दिएपछि जंगलमा लुकेर बसेको बताएका छन् ।

दलित अभियान्ता तथा अध्येता जेबी विश्वकर्माले यो भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । भिडियोमा उनीहरुले अन्तरजातीय विवाह गर्दा भोगेको मानसिक र सामाजिक विभेदको बारेमा बोलेका छन् । यो भिडियो सार्वजनिक भएपछि केही दलित अभियान्ता र युवकका आफन्तको समन्वयमा उनीहरुलाई घरमा फर्काउने प्रयास भइरहेको छ ।

 

Nabintech