• १५ चैत्र २०८०, बिहीबार
राष्ट्रियसभामा विपक्षीको आक्रोश :प्रधामन्त्री र राष्ट्रपतिले संविधान मिचेर देशलाई भड्कालोमा पुराए !

ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड कायम गरे



काठमाडौं । राष्ट्रिय सभा आठौँ अधिवेशनको पहिलो बैठकमै विपक्षी दलहरू सरकारमाथि खनिएका छन् ।

आजदेखि सुरु भएको राष्ट्रिय सभाको बर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै काँग्रेसका सांसद राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिका प्रति प्रश्न उठाएका हुन् । उनले राष्ट्रपतिजस्तो गौरवको संस्था केवल प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नेमा सिमित भएको टिप्पणी गरे ।

कोरोना संकटले मुलुक ग्रस्त भएका बेला प्रधानमन्त्रीले दुई पटक संसद विघटन गर्नु औचित्यपूर्ण नभएको बताए । उनले भने– ‘एकातिर लकडाउन गर्ने र अर्कोतिर प्रतिनिधिसभाको २ पटक विघटन गर्ने विडम्बनापूर्ण काम भएको छ । प्रधानमन्त्रीले अहिले चुनावको घोषणा गरेपनि परिस्थिति ठीक छैन । सर्वोच्चले राजनीतिक विषयको मुद्दा हेर्न नहुने सत्ता पक्षको सांसदले भन्नुभयो । हिजो पनि सर्वोच्चले हेरेको थियो र भोलि पनि हेर्नेछ ।’

उनले सरकारले ४५ लाखभन्दा बढी खोप उपलब्ध गराउन नसकेको बताउँदै त्यो खोप २० लाख जनसंख्याका लागि मात्र ठीक भएको बताए । ७ दशमलव ५ प्रतिशतले जनताले मात्र खोप लगाउन पाएको भन्दै उनले १० लाख खोप मात्र खरिद गरेको उल्लेख गरे ।

उनले भने– ‘सरकारले खोप ल्याउने भनेर प्रचार गरेपनि खोप ल्याउन नसकेको तितो यथार्थ हो । छिमेकीसँग कुटनीतिक सम्बन्ध कस्तो छ उदाङ्गो भएको छ । सरकार कुटनीतिक मामिलामा असफल भएको छ ।’ कोभिडको असर सामाजिक आर्थिक क्षेत्रमा परेका बेला ४ पटक स्वास्थ्यमन्त्री फेर्नु सरकारको असफलता भएको बताए ।

सांसद अधिकारीले किसानले मल नपाएर अहिले पनि मलको हाहाकार परेको बताए । यस्तै विद्यालय शिक्षामा समस्या, अक्सिजन अभावमा नागरिकहरुले मृत्युवरण भइरहेको प्रति सरकारले मतलब नगरेको आरोप लगाए ।

त्यस्तै माओवादी केन्द्र राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले प्रधामन्त्री र राष्ट्रपतिले एकलौटी अधिकार प्रयोग गरेको आरोप लगाए ।  आफ्ना गुटका मानिसलाई मात्रै अघि बढाउने परम्पराले राष्ट्रिय संकट आएको उनको भनाई छ । उनले ओलीभित्रको दम्भ र घमण्डले देशलाई भड्कालोमा पुराएकोसमेत प्रष्ट पारे ।

‘मुलुकमा कोभिड महामारीको संकट छ । त्यो संकटभन्दा ठूलो संकट प्रतिगमनको संकट हो’, सम्बोधनका क्रममा उनले भने,’हामीलाई सुरुमा दुई तिहाइको दम्भ देखायौँ । त्यसपछि हामीले न पार्टी जोगाउन सक्यौँ, न जनप्रतिनिधि संस्थालाई जोगाउन सक्यौँ । हामी असफल भयौँ ।’

सम्बोधनको अन्त्यमा शर्माले भने,’यो अधिवेशन दुई चार दिनमै अन्त्य नहोस् ।’

त्यसैगरी राष्ट्रिय सभामा जनता समाजवादी पार्टीको तर्फबाट सम्बोधन गर्दै सांसद प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड बनाएको आरोप लगाइन् ।

साथै आफ्ना नेता र पार्टीलाई प्रधानमन्त्री ओलीले झुक्याएकोसमेत उनले बताइन् । उनले भनिन्,‘मेरा आदरणीय नेताहरु, जो प्रधानमन्त्री ओलीजीको झुठो आश्वासनको जालमा फस्नुभएको छ। उहाँहरुलाई त्यो छलकपट रुपी जालबाट बाहिर निस्किन र जनता समाजवादी पार्टीलाई बलियो बनाउन हार्दिक अनुरोध गर्दछु ।’

 

Nabintech