• ७ बैशाख २०८१, शुक्रबार
पुरानो नक्सा राखी पुस्तक बिक्री गर्ने प्रकाशनलाई कारबाही गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन


काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले देशको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्री श्रेष्ठले त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको आज सम्पन्न ८८औँ भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न केन्द्रलाई निर्देशन दिए ।

बैठकमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने जानकारी दिए ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तक अभाव हुन नदिन सूचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृति दिनसमेत निर्देशन दिए । बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ ।

 

Nabintech