• १६ चैत्र २०८०, शुक्रबार
‘भदौमा पार्टीको महाधिवेशन जसरी पनि हुन्छ’:शेरबहादुर देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौ महिनामा जसरी पनि महाधिवेशन हुने बताउनुभएको छ ।

बुधबार एक वक्तव्य जारी गर्दै सभापति देउवाले समयमै महाधिवेशन हुनेमा आशंका नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । असार र साउन महिनामा तयारी गरेर भदौमा महाधिवेशन गर्ने देउवाले प्रतिबद्धता पनि जनाउनुभएको छ ।

पूर्वनिर्धारित समयमा महाधिवेशन हुन नसक्ने आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवालाई महामारीकै बीचमा पनि महाधिवेशन गर्न ध्यानाकर्षण गराइरहनुभएको छ । सभापति देउवाले बुधबार एक प्रेस विज्ञप्ति निकालेरै भदौमै महाधिवेशन हुने प्रष्टाउनुभएको हो । देउवाले महाधिवेशनका लागि तयारी गर्न पनि नेताहरुलाई निर्देशन दिनुभएको छ ।

देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने उल्लेख समेत गर्नुभएको छ । क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने भएकाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम भइरहेको स्मरण पनि गराउनुभएको छ ।

देउवाले पार्टी महाधिवेशनलाई लिएर बिबादित कुरा नगर्न पनि नेताहरूलाई आग्रह गर्नुभएको छ । महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने देउवाको भनाइ छ। बरु महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य रहेको देउवाले सम्झाउनुभएको छ । देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियानका साथै पार्टीलाई जिवन्त राख्नका लागि महायज्ञ भएको कुरा आफुले राम्ररी बुझेको पनि प्रष्टाउनुभएको छ ।

देउवाले कांग्रेस आवद्ध सबैलाई आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको छ । कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि आग्रह गर्नुभएको छ ।

कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो। तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन। अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य पुगेका छन्। कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेको छ तर विभिन्न जिल्लामा क्रियाशिल सदस्यता वितरणमा विवाद देखिएको छ भने कुनै जिल्लामा समायोजन हुन पनि बाँकी रहेको छ ।

कांग्रेसले संविधानले दिएको अधिकार प्रयोग गरी अन्तिमपटक भदौ ७ देखि १० सम्म पार्टीको महाधिवेशनको मिति तोकेको थियो । भदौभित्र महाधिवेशन नगरे पार्टीलाई संवैधानिक संकट आइपर्ने छ ।

 

Nabintech