• १५ चैत्र २०८०, बिहीबार
काठमाडौं उपत्यकामा जेठ १४ गतेदेखि किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न नपाइने

विवाहमा ७ जना मात्र जम्मा हुन पाउने



काठमाडौं । काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले जेठ १४ गतेबाट किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय लागु हुने बताइएको छ ।
संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिं बन्द गर्ने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए ।

उपत्यकामा लगाइएको निषेधाज्ञा निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरिएको छ ।

 

Nabintech