म्यानमार प्रदर्शनः दर्जनौँ मानिस मारिएपछि अमेरिका मर्माहत !


म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन मर्माहत भएको छ । बीबीसी समाचारका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य कू पछिको सबभन्दा बढी हताहत भएको दिन भएको सम्झेर मर्माहत भएका हुन् ।

समाचारमा जनाइए अनुसार एक सय जना भन्दा बढी मानिस मारिएको बताइएको छ। ब्लिङ्कनका अनुसार शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पार्छन् भन्ने देखाएको छ।

संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले पनि सोही घटनाले आफू स्तब्ध भएको बताएका छन्। उता ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले त्यसको निन्दा गरेका छन्। चेतावनी दिँदादिँदै पनि प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिका सहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको समाचारमा उल्लेख गरिएको छ ।

राजबन्दी निगरानी समूह ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ले ९१ जना मारिएको जनाएको छ। स्थानीय सञ्चार माध्यमले सङ्ख्या त्यो भन्दा बढी रहेको जनाएका छन्। मिङ्ज्ञान शहरका एक जना बासिन्दा थु या जले रोयटर्सलाई भने, हाम्रा घरमा प्रवेश गरेर समेत ‘उनीहरूले हामीलाई चरा वा कुखुरा मारे झैँ मारिरहेका छन्।’

गत फेब्रुअरी महिनामा सैन्य कू भए यता विरोध प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ। आङ सान सु चीको दल न्याशनल लीग फर डेमोक्रेशीले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको छ।

संयुक्त राष्ट्रसङ्घले कैयौँ मानिसहरू मारिएको र सयौँ घाइते भएको विवरण प्राप्त गरेको जनाएको छ। एएपीले मारिनेहरूमा उनकै घरभित्र गोली हानिएकी एकजना १३ वर्षकी बालिका पनि रहेको बताएको छ। प्रत्यक्षदर्शी र स्रोतहरूले बीबीसी बर्मिज्‌लाई बताए अनुसार कैयौँ सहरहरू र नगरहरूमा प्रदर्शनकारीहरू मारिएका छन्। याङ्गुन र दोस्रो ठूलो सहर मान्डलेमा पनि मानिसहरू मारिएको खबर छ।

ती शहरहरूमा प्रदर्शनकारीहरूले एनएलडीको झण्डा बोकेका थिए र निरङ्कुशता विरुद्ध तीन औँला देखाएर गरिने परम्परागत सलाम गरेका छन्। सेनाले अहिलेसम्म ती हत्याहरूबारे प्रतिक्रिया दिएको छैन।

एउटा सैन्य दिवसमा टेलिभिजनमा सम्बोधन गर्दै सैन्य कूका नेता मिन आङ लाइङले सेनाले प्रजातन्त्रलाई बचाउनका लागि पूरा देशसँग हात मिलाएकोू बताएका थिए। यसैबेला पूर्वी म्यान्मारको एउटा जातीय समूहले उसको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य जेटहरूले निसाना बनाएको बताएको छ।

कारेन न्याशनल युनियनले थाई सीमा नजिकै एउटा सैन्य पोस्टमा आगो लगाएको खबर आएको केही घण्टाभित्रै उक्त सैन्य कारबाही भएको बताइएको छ। यसले कैयौँ वर्षको शान्तिपछि अब उक्त समूह र सेनाबीच तनाव बढ्ने ठानिएको छ। एजेन्सी

Nabintech