• १४ बैशाख २०८१, शुक्रबार
भारतीय राजदूतावासद्वारा शिवपुरी राष्ट्रिय निकुञ्जमा अल–वुमन हाइक आयोजना


काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले शिवपुरी राष्ट्रिय निकुञ्जमा अल–वुमन हाइकको आयोजना गरेको थियो ।

‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसामुक्त समाज भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

भारतको ७५औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत सो पैदलयात्राको आयोजना गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राकी धर्मपत्नी पुजा क्वात्रा सो कार्यक्रमको विशेष अतिथिका रुपमा थिइन् । उक्त पैदलयात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाहरुको समेत उपस्थिति थियो ।

पद्मश्री अवार्डबाट सम्मानित अनुराधा कोईरालाले स्थापना गरेको गैरसरकारी संस्था माईती नेपालसँगको सहकार्यमा दूतावासले सो कार्यक्रमको आयोजना गरेको हो ।

बेचबिखनमा परेका पीडित महिलाहरुको उद्घार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पुर्याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ ।

क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थीहरु वा उनीहरुका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गरेकी थिइन् ।

‘आजादीका अमृत महोत्सव’ भारत सरकारले अघि सरेको पहल हो । सो महोत्सवमार्फत प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासलाई स्मरण गर्दै यसलाई उत्सवका रुपमा मनाइने छ ।

भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव मनाउँदै छ । यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखला बद्ध कार्यक्रमको आयोजना गरेको छ ।

सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहने छ । उक्त महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।

 

Nabintech