शिव र गौरी २० वर्षपछि एउटै फिल्म खेल्दै


काठमाडौं । नायक शिव श्रेष्ठ र नायिका गौरी मल्लको जोडीलाई २० वर्षपछि एकसाथ पर्दामा देख्न पाइने भएको छ । फिल्म ‘धर्मसंकट’ पछि एकसाथ काम नगरेका उनीहरुको निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘डाँडाको बर पीपल’ मा सहकार्य भएको हो । फिल्ममा शिव र गौरी श्रीमान-श्रीमतीको भूमिकामा प्रस्तुत हुँँदैछन् । दुई दशकपछि सँगै काम गर्न पाएकोमा दुवैले खुसी व्यक्त गरेका छन् ।

निर्देशक बस्नेतले फिल्ममा शिव श्रेष्ठ र गौरी मल्लको भूमिका शक्तिशाली रहेको बताए । बिहीवार राजधानीमा शुभमुहूर्त गर्दै छायांकन सुरु भएको फिल्ममा उनीहरुको छोराको भूमिकामा सलोन बस्नेत, राजीवजंग बस्नेत र यशराज गराचले अभिनय गर्दैछन् । छोरा र आमा-बुबाबीचको सम्बन्धको कथा वाचन गर्ने फिल्म बुढा सुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

पारिवारिक कथामा निर्माण हुने फिल्मका लागि नायिकाको भने टुंगो लागेको छैन । निर्देशक बस्नेतले केही नायिकासँग कुराकानी भइरहेको र चाँडै टुंगो लाग्ने बताए । फिल्ममा तीन नायिका हुनेछन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत छ ।

७५ दिनको छायांकन सेड्युल बनाइएको फिल्म काठमाडौं, कालाबाङ, शे-फोक्सुन्डो ताल र पूर्वका विभिन्न स्थानमा खिचिनेछ । फिल्ममा सलोन विकट गाउँको एक गोठालोको भूमिकामा देखिने निर्देशक बस्नेतले बताए । उनले भने, ‘अहिले यूट्युब ट्रेन्डिङमा रहेको सेन्मिखाको कथाको क्यारेक्टरलाई नै फिल्ममा निकाल्ने प्रयास गरेका छौं । सलोनलाई त्यही क्यारेक्टरमा ढाल्नेछौं ।’

Nabintech