• १६ चैत्र २०८०, शुक्रबार
शेयर के हो ? यस्ता छन् शेयरमा लगानी गर्ने विधिहरु


काठमाडौं । कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरिन्छ । यसरी कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ । सेयर, पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबीच करार हुने गर्दछ ।

सेयरमा लगानी गरेवापत सेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो ।

संस्थापक सेयर वा अग्राधिकार सेयर

कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो ।

तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो ।

यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम बराबरको सेयर हाल्छ त्यसलाई संस्थापक सेयर वा अग्राधिकार सेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ ।

साधारण सेयर

संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु।१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।

सेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् ।

कसरी किन्ने सेयर 

आईपीओ जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन गर्छन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिन्छ । आह्वानपत्रले कम्पनीको सेयरमा कतिसम्म र कहाँबाट आवेदन सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजनासमेत उल्लेख गरेको हुन्छ । आह्वानपत्र राम्ररी अध्ययन गर्न सक्नेले त्यहीँबाट पनि कम्पनीको धेरै जानकारी पाउँछ ।

यस्तो आह्वानपत्र धितोपत्र बोर्डबाट स्वीकृत भएको हुँदा लगानीकर्ता विश्वसनीयतामा भर पर्न सक्छन् । आह्वानपत्रमा उल्लेख भएको सेयर विक्री प्रबन्धक वा तोकिएका सङ्कलन केन्द्रबाट सेयरमा लगानी गर्न फारम पाइन्छ । फारममा लगानीकर्ताले कति कित्ता सेयर लिन चाहेको हो, उल्लेख गरेर आफ्नो बारेमा मागिएको जानकारी पनि भर्नुपर्छ । सेयर फारममा हस्ताक्षरसमेत गर्नुपर्ने हुन्छ । पछि नगद फिर्ता लिँदा हस्ताक्षर मिल्नुुपर्ने भएकाले स्पष्ट र चल्तीकै हस्ताक्षर गर्नुपर्छ ।

बैंक खाता अनिवार्य

फारम भर्नेको बैङ्क खाता अनिवार्य हुनुपर्ने व्यवस्था छ । मागेको भन्दा कम सेयर परेमा वा सेयर नपरेमा त्यही खातामा रकम जम्मा गर्न मिल्ने गरी विक्री प्रबन्धकले एकाउण्टपेयी (अर्थात् खातामै रकम जाने) चेक जारी गरिदिन्छ ।

फारम भर्न जाँदा आफ्नो पासपोर्ट साइजको दुईप्रति फोटो र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ । सक्कल नागरिकता प्रमाणपत्रसमेत सङ्कलन केन्द्रमा देखाउनुपर्ने भएकाले साथमै बोक्नुपर्छ । निश्चत सीमाभन्दा बढी रकमको सेयर माग गर्दा आम्दानीको स्रोत उल्लेख गर्नुपर्ने हुन्छ भने एकाउण्टपेयी चेकबाटै भुक्तानी दिनुपर्छ ।

आवेदन गरेको शेयरको बाँडफाँट निष्कासित सेयरको आधारमा ४० देखि ७० दिन लाग्छ । शेयर बाँडफाँट भएपछि लगानीकर्ताले कति सेयर पाए भन्ने यकिन हुन्छ । पाएको सेयरको प्रमाणपत्र र माग गरेर पनि नपाएको सेयरको रकम फिर्ता भने सङ्कलन केन्द्र वा विक्री प्रबन्धकबाटै पाउन सकिन्छ । माग गरेर पनि भनेजति शेयर नपाएकाले त्यो रकम बापतको ब्याज पनि पाउँछन् ।

तर, यस्तो ब्याज भने जम्मा २ प्रतिशत मात्र पाइन्छ । कतिपय बैङ्क तथा वित्तीय संस्थाले भने आफ्नै सेयरमा लगानी गर्नेलाई लक्षित गरेर सेयरधनी खाता पनि सञ्चालनमा ल्याएका छन् । कम्पनीले मागभन्दा कम सेयर पर्नेलाई रकम फिर्ता दिनुपरेमा आफैले त्यो खातामा रकमसमेत राखिदिने र भविष्यमा दिने नगद लाभांश पनि जम्मा गरिदिने गर्छन् । यो खातामा रकम हालिसकेपछिको ब्याजदर भने केही बढी हुन्छ ।

नेप्सेमा कारोबार

सेयर बाँडफाँट गरेको ३० दिनभित्र कम्पनीले आफ्नो शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर सूचीकरण गराउँछन् । त्यसपछि लगानीकर्ताले (जलविद्युत् जस्ता कम्पनीले स्थानीय बासिन्दा वा यही समूहका लागि जारी गरेको सेयरबाहेक) सेयर कारोबार गर्न सक्नेछन् । कुनै पनि कम्पनीको पहिलो पटकको काराबोरका लागि नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्म रकम तोकिदिन्छ । त्यसपछिको मूल्य भने बजारमा रहेको माग र आपूर्ति अनुसार नै निर्धारण हुन थाल्छ ।

Nabintech