• ७ बैशाख २०८१, शुक्रबार
चलचित्र दुई नम्बरी र के घर के डरा कहिले सुरु हुने ?


काठमाडौं । कोरोना भाइरसका कारण ९ महिना फिल्म निर्माण ठप्प हुँदा अधिकांश कलाकार बेरोजगार भएका थिए । महिनौंसम्म घरभित्र नजरबन्दको जीवन गुजारेका कलाकारहरु दशैंदेखि फिल्म वा म्यूजिक भिडियोको छायांकनमा भ्याइनभ्याइ हुन थालेका छन् । सरकारले फिल्म क्षेत्रमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै केही कलाकारले फिल्मको छायांकन समेत पूरा गरिसकेका छन् ।

तर, अभिनेत्री वर्षा राउत भने फिल्म ‘दुई नम्बरी र के घर के डरा’ को छायांकन सुरु नभएर तनावमा छिन् । लकडाउन हुनुभन्दा अगाडि उनी ‘दुई नम्बरी’ को छायांकन गरिरहेकी थिइन् । कोरोनाका कारण देश लकडाउन भएपछि फिल्मको छायांकन अधुरैमा रोकियो । यही चैतबाट बाँकी छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम भए पनि अब भदौसम्मका लागि पोस्टपोन्ड गरिएको छ ।

त्यस्तै, सुव्रतराज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डरा’ को निर्माण घोषणा भएको एक वर्ष वितिसक्दा पनि छायांकन सुरु हुन सकेको छैन । जसले गर्दा अभिनेत्री राउत म्यूजिक भिडियो खेलेर चित्त बुझाइरहेकी छन् । फिल्ममा व्यस्त हुँदा म्यूजिक भिडियोमा विरलै देखिने उनी फिल्मको काम सुरु नहुँदा अहिले म्यूजिक भिडियोको प्रचारमा समेत हिँड्न थालेकी छन् ।

फिल्मको काम सुरु हुन नसक्दा नरमाइलो लागेको वर्षा बताउँछिन् । सोमवार एक भिडियोको प्रचारको क्रममा उनले भनेकी छन्, ‘यतिबेला सबैलाई काम सुरु गर्न रहर छ ।

मलाई पनि फिल्म कहिलेबाट सुरु होला भन्ने भइरहेको छ । यो बेला अरु प्रोजेक्ट आयो भने अलि हल्का होला ।’ उनले विवाह बन्धनमा बाँधिएको लामो समयपछि ‘दुई नम्बरी र के घर के डरा’ साइन गरेकी थिइन् ।

Nabintech