• १३ बैशाख २०८१, बिहीबार
घटेको बजारमा तामाकोशीको शेयरमा सकारात्मक सर्किट, यस्तो छ कारण ?


काठमाडौं । बैशाख अन्तिम साता विद्युत उत्पादन हुने हल्लाले माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयरमा आज १० प्रतिशत मुल्य बढेर सकारात्मक सर्किट लागेको छ ।

आइतबार उच्च अङ्कले वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.०८ अङ्कले ओरालो लागेर दुई हजार ५१४.३९ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४.७९ अङ्कले घटेर ४४८.८० मा ओर्लेको छ । कूल २११ कम्पनीको एक करोड नौ लाख ३१ हजार ३१३ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड १३ लाख ३७ हजार २९० मा खरीद बिक्री भए । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३४ खर्ब ७२ अर्ब ४७ करोड ४३ लाख ४० हजारको हाराहारीमा रहेको छ ।

नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । होटेल तथा पर्यटन १०४.९७ र जलविद्युत् १०१.७३ अङ्कले वृद्धि भयो । बैंकिङ २१.४८, व्यापार १६।५, विकास बैंक १९.५३, वित्त ८.१९, निर्जीवन बीमा १८३.५८, उत्पादन १२९.२२, अन्य ३०.६२, लघुवित्त ९२.७८, जीवन बीमा ३१५.९६, सामूहिक लगानी कोष ०.०५ र लगानी उपसमूह १.४ अङ्कले घटेको छ ।

सोमबारको कारोवारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ७२६ मा कारोवार भयो । कूल रु ४६ करोड ९६ लाख ८९ हजार ८७६ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नेपाल बङ्गलादेश बैंक रु ३१ करोड ४३ लाख ७३ हजार २०४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु २६ करोड २२ लाख ३९ हजार ९७०, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु २५ करोड ४० लाख ५० हजार ८८२, नेपाल पूर्वाधार बैंक रु १९ करोड ७७ लाख तीन हजार १००, नबिल बैंक रु ११ करोड ७३ लाख ११ हजार ७२७, शिवम् सिमेन्ट रु १० करोड ३३ लाख ८५ हजार २६८, नेरुडे लघुवित्त रु नौ करोड ४८ लाख १३ हजार ५०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी र चन्द्रागिरि हिल्सको शेयरमा आज सकारात्मक सर्किट लाग्यो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको र छिट्टै बिजुली उत्पादन हुने समाचार सार्वजनिक भएपछि सो कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको आगामी वैशाख अन्तिम सातादेखि बिजुली उत्पादन गर्ने तयारी थालिएको छ । तथापी आयोजनाले यस अघि पनि परिक्षण प्रशारणको धेरै भाका सारिसकेको छ।

Nabintech