• १५ चैत्र २०८०, बिहीबार
अफगानिस्तानले जित्यो टी–२० सिरिज, राशिदको शानदार प्रदर्शन


काठमाडौं । जिम्बाब्वेविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । आबुधाबीमा भएको दोस्रो खेलमा जिम्बाब्वेलाई ४५ रनले हराउँदै अफगानिस्तानले एक खेल अगावै सिरिज आफ्नो बनाएको हो।

अफगानिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो।

उसका लागि रायन बुर्लले ४०, डोनाल्ड तिरिपानोले २४, तरिसै मुसकान्डाले २२, रिचमन्ड मुटुम्बमीले २१ र सिकन्दर राजाले १६ रन बनाए। बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा राशिद खानले तीन, मोहम्मद नाबी, नवीनउल हकले दुई–दुई, अमिर हम्जा, करिम जनत र फरीद अहमदले एकएक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९३ रन बनायो।

उसका लागि करिम जनतले अर्धशतकीय पारी खेले। उनले ३८ बलमा चार छक्का र तीन चौकासहित ५३ रन बनाए।

मोहम्मद नाबीले आक्रमक ब्याटिङ गरे। उनले १५ बलमा चार छक्का र २ चौकाको मद्दतमा ४० रनको योगदान दिए।

यस्तै, उस्मान घनीले ४९, नजीबुल्लाह जदरानले १२, रहमानुल्लाह गुर्बाजले ९ रन बनाउँदा कप्तान असगर अफगान १४ र राशिद खान ९ रनमा नटआउट रहे।

बलिङमा ब्लेसिंग मुझारबानीले २, रिचर्ड नगारावा, डोनाल्ड तिरिपानो र रायन बुर्लले एक–एक विकेट लिए।

यो जितसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले २–० को अग्रतासमेत बनाएको छ। पहिलो म्याचमा अफगानिस्तान ४८ रनले विजयी भएको थियो। जिम्बाब्वे र अफगानिस्तानबीचको अन्तिम तथा तेस्रो खेल शनिबार हुनेछ।

Nabintech