• १५ चैत्र २०८०, बिहीबार
वैदेशिक रोजगारीमा जाने नेपाली घटे, विप्रेषण आप्रवाहमा भने वृद्धि


काठमाडौं । कोरोना लगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महीनामा कुल  पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ ।

बैंकका अनुसार विप्रेषण आप्रवाहमा १० दशमलव ९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ७ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ७ प्रतिशतले वृद्धि भई रू। चार अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५ दशमलव ९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१ द्यशमलव ७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव ६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव ८ प्रतिशतले वृद्धि भई  ६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ दशमलव ५ प्रतिशतले घटेको थियो । यस्तै, खुद सेवा आय  ३२ अर्ब तीन करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रू। तीन अर्ब आठ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१ दशमलव ९ प्रतिशतले कमी आई  तीन अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय  ४८ अर्ब एक करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५६ दशमलव ७ प्रतिशतले कमी आई १८ अर्ब ८५ करोड कायम भएको छ । यसमध्ये शिक्षा तर्पको व्यय १५ अर्ब ५८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रहेकोमा शिक्षातर्फको व्यय र २० अर्ब ९७ करोड रहेको थियो ।

Nabintech