काठमाडौं । कूल ऋण पूँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ ।
कम्पनीले ऋणमा लागानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्थामा शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो ।
कम्पनीको शिलमोहोर लागेको लिखित प्रतिज्ञापत्र नै ऋणपत्र हो । यसमा ऋणपत्र धारकहरुलाई साँवा भुक्तानी हुने मिति, ब्याज भुक्तानी दर, प्रकृया र प्रत्येक ऋणपत्रको अंकित मूल्य पनि उल्लेख गरिएको हुन्छ ।
कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरि कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखि वा नराखी ऋण पूँजी उठाउन सक्छ । यसमा लगानी गर्ने लगानीकर्ताले आफुले गरेको लगानी रकममा तोकिएको ब्याजदर प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरधनीलाई लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् ।
कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा प्राप्त गर्न असमर्थ भएमा ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले कम्पनीलाई खारेजीमा पठाउनका लागि कारवार्ही समेत चलाउन सक्दछन् । प्राय जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्रमा लगानी उत्तम विकल्प हुनसक्छ ।
ऋणपत्रमा लगानी गर्ने लगानीकर्तालाई ऋणपत्र जारी गर्ने कम्पनीको बार्षिक साधारण सभामा सहभागी हुने अवसर र मताधिकार अधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा असर पर्दैन ।
ऋणपत्रको ब्याजदर पूर्व निर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारिहरुले नाफामा दाबी गर्न पाउँदैनन । ऋणपत्रको परिपक्व अवधि दिर्घकालीन हुने भएकाले कम्पनिको लागि आवश्यक पर्ने स्थिर सम्पती खरिद गर्न ऋणपत्र मार्फत पूँजी उठाईन्छ ।
ऋणपत्रमा दिइने व्याजलाई अन्य खर्च जस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाईन्छ । जसले गर्दा ऋणपत्र जारी गर्ने कम्पनीहरुलाई करको दायित्व समेत कम हुन्छ ।