‘ओली गुट’को निर्णयलाई वैधानिकता नदिन निर्वाचन आयोगमा नेपाल–खनाल पक्षको उजुरी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबार आफू पक्षीय सांसदहरुको विशेष बैठक राखेर माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने र पूर्व माओवादीका तर्फबाट २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णयलाई वैधानिकता नदिन निर्वाचन आयोगमा उजुरी गरेको छ ।

सर्वोच्च अदालत र पार्टीको विधानविपरीत अध्यक्ष केपी ओलीले गुटको बैठक बोलाएर पदाधिकारी खारेज, कार्यविभाजन हेरफेर र महाधिवेशनको निर्णय गरेको भन्दै त्यसलाई वैधानिकता नदिन एमालेको नेपाल–खनाल समूहले निर्वाचन आयोगमा उजुरी दिएको हो ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्म शाक्य र भीम रावल, उपमहासचिव धनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेले आयोगमा उजुरी दिएका हुन् । नेता राजेन्द्र पाण्डेले अनधिकृत निर्णय रोक्न माग गर्दै उजुरी दर्ता गरिएको जानकारी दिए ।

आयोगलाई बुझाइएको पत्रमा भनिएको छ, ‘हामीलाई कुनै जानकारी नै नदिई बहुमतसमेत नभएको बैठकबाट पार्टी विधानविपरीत केन्द्रीय कमिटीका कतिपय पदाधिकारीलाई पदबाट हटाइएको, केहीको जिम्मेवारी हेरफेर गरिएको र केही थप व्यक्तिलाई केन्द्रीय कमिटीको सदस्य बनाइएको भनी सार्वजनिक भएको कामकारबाही नेकपा (एमाले)को विधानविपरीत र अनधिकृत छ ।’

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले पुरानो कमिटी ब्युँत्याएकोमा पार्टीलाई क्रियाशील नगराई गुटको बैठक गरेर निर्णय गर्नु आपत्तिजनक भएको नेपाल–खनाल समूहको निष्कर्ष छ ।

पदाधिकारी महाधिवेशनले निर्वाचित गर्ने, विधान संशोधन राष्ट्रिय अधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने व्यवस्था पनि नेपाल–खनाल समूहले स्मरण गराएको छ । क्रमशः सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने एमालेको प्रचलन पनि नेताहरूले स्मरण गराएका छन् ।

 

Nabintech