• १४ बैशाख २०८१, शुक्रबार
न्यूजिल्याण्डविरुद्ध अष्ट्रेलियाको शानदार जित, म्याक्सवेलले गरे उत्कृष्ट प्रदर्शन


काठमाडौं । टी–२० सिरिजअन्तर्गत तेस्रो खेलमा घरेलु टोली न्यूजिल्याण्डमाथि अष्ट्रेलिया ६४ रनले विजयी भएको छ।

अष्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १७.१ ओभरमा अलआउट हुँदै १४४ रन मात्र बनाउन सक्यो।

उसका लागि मार्टिन गुप्टिलले ४३, डेभन कोन्वेले ३८, मार्क चेपम्यानले १८, ग्लेन फिलिप्सले १३ र काइल जेमिसनले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा एष्टन अगरले घातक बलिङ गरे। उनले ४ ओभरमा ३० रन दिएर महत्वपूणृ ६ विकेट लिए।

यस्तै, रिले मेरीडिथले २ तथा केन रिचर्डसन र एडम जम्पाले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो।

उसका लागि कप्तान आरोन फिन्च र ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गरे। म्याक्सवेलले ३१ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए।

उनले १७औँ ओभरमा २८ रन जोडेका थिए। उनले जिमी नीशमको ओभरमा ४ चौका र २ छक्का हिर्काएका थिए।

कप्तान फिन्चले ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रन जोडे।

यस्तै, जोश फिलिपले ४३, म्याथ्यू वेडले ५ रन बनाउँदा मार्कस स्टोइनिस ९ र मिचेल मार्श ६ रनमा नटआउट रहे।

बलिङमा ईश सोधीले २ तथा ट्रेन्ट बोल्ट र टिम साउथीले एक–एक विकेट लिए। पाँच म्याचको सिरिजमा न्यूजिल्याण्डले २–१ ले अघि छ।

Nabintech