राष्ट्र बैंक ७१ करोड खर्चेर ३० करोड थान १ रुपैयाँका सिक्का छाप्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले पौने ७१ करोड रुपैयाँ खर्च गर्ने भएको हो ।

केन्द्रिय बैंकले ३० करोड थान १ रुपैयाँको सिक्का पोल्याण्डको मेन्निका पोलस्का एसए कम्पनीलाई ५१ लाख १५ हजार युरोमा छपाइको जिम्मा दिने भएको छ । जसको आजको विनिमय दर अनुसार ७० करोड ७३ लाख नेपाली रुपैयाँ पर्न आउँछ ।

उक्त कम्पनीले १ रुपैयाँको सिक्का छपाइका लागि राष्ट्र बैंकले गरेको बोलपत्र आह्वानमा गरेको थियो । जसमा कम्पनीले सबैभन्दा थोरै शुल्क लिने भएपछि छपाइको जिम्मा दिइएको राष्ट्र बैंकद्वारा सार्वजनिक आशय पत्रमा उल्लेख छ ।

सो शुल्कमा १ रुपैयाँदरका ३० करोड थान सिक्का छपाइ गर्दा प्रतिसिक्काको खर्च २ रुपैयाँ ३५ पैसा पर्न जान्छ ।

विद्युतीय भुक्तानी र क्यूआर कोड भुक्तानीको अभियान नै चलाउँदै आएको राष्ट्र बैंकले मुद्राको मुल्यांकनभन्दा दोब्बर बढी खर्च गरेर सिक्का छाप्न लागेको हो ।

Nabintech