वैज्ञानिक वन कार्यक्रम खारेज गर्न एक अर्ब रुपैयाँको प्रलोभन देखाए:प्रेम आले


काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेम आलेले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताए ।

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन् । गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही ‘बदमास’ कर्मचारीले भेट्न प्रयास गरेको, तर आफूले कसैलाई पनि भेट नगरी वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको जिकिर गरे । उनले भने, ‘जुन दिन मैले पदवहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखि वनका केही बदमास कर्मचारीसम्मले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिनँ । कसैलाई पनि भेट्दिनँ भनेँ । मैले कसैलाई भेट्दा पनि भेटिनँ । पछि कुरा कतिसम्म आयो भने हामी एक अर्ब पैसा उठाएर दिन्छौँ भन्ने कुरा पनि आयो । अनि मैले भनेँ एक अर्ब पैसा समातेर आफ्नो मुखमा मोसो आफैँ दल्ने मैले रु हुँदैन भनेर इन्कार गरेँ ।’

 

Nabintech