• १५ चैत्र २०८०, बिहीबार
कोटेश्वर-जडिबुटी सडक विस्तार गरिदै, अब ७ लेनको बनाइने


काठमाडौं । कोटेश्वर-जडिबुटी सडक खण्ड फराकिलो हुने भएको छ । हाल सञ्चालनमा रहेको सडकको दक्षिणतर्फ दुई लेन र उत्तरतर्फ एक लेन विस्तार गरिनेछ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीका अनुसार कोटेश्वर-जडिबुटी सडक खण्ड ७ लेनमा विस्तार गर्न लागिएको हो ।

सडक विस्तारका लागि काठमाडौं डिभिजनले ठेक्का पनि लगाईसकेको छ । टुन्डी-सुसन कन्ट्रक्सन जेभीले सो सडक विस्तारको जिम्मा पाएको छ ।

चालु आर्थिक वर्षमै सडक विस्तार सम्पन्न गर्नेगरी टुन्डी-सुसन कन्ट्रक्सन जेभीले २०७७ माघमा करिब ८ करोड रुपैयाँमा ठेक्का पाएको हो । अहिले धमाधम निर्माण भइरहेको छ ।

एक दशकअघि जापानी सहयोग नियोग (जाइका)को सहयोगमा कोटेश्वर-सूर्यविनायक सडक विस्तार गरिएको थियो । यो सडक खण्ड १२ किलोमिटर लामो छ । तत्कालिन समयमा कोटेश्वर–सूर्यविनाय सडक ६ लेनमा विस्तार हुँदा पनि कोटेश्वर-जडिबुटी खण्ड भने ४ लेनमा मात्र विस्तार गरिएको छ ।

यो सडक खण्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्ने भएकाले तत्कालिन समयमा सडक चौडा बनाउन सकिएको थिएन । नागरिक उडड्यान प्राधिकरणले सडक विस्तारका लागि जग्गा उपलब्ध गराउने सहमति दिएसँगै विस्तार प्रक्रिया अघि बढाइएको प्रमुख नेपालीले बताए ।

निर्माण भएको केही समयमा भत्काउन नपरोस् भनी सडकमा बिच्छ्याउने संरचना पहिले नै राखिनेछ । यसका लागि विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थासँग समन्वयमा संरचना निर्माण भइरहेको छ ।

सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ ।

‘साइट क्लियरिङको काम तीब्र गतिमा अघि बढाइएको छ, उत्तरतर्फ एउटा घरसँग मुआब्जा विवाद सल्टिएको छैन, घर धनीसँग निरन्तर सम्पर्क गरिरहेका छौं,’ नेपालीले भने, ‘मुआब्जा विवाद सल्टाउन प्राविधि प्रतिवेदन बन्ने क्रममा छ ।’

मुआब्जाको टुंगो लागेसँग विस्तार प्रक्रियाले तीब्रता पाउने उनको विश्वास छ ।

अब कस्तो बन्छ सडक ?

कोटेश्वर-जडिबुटी सडक ४ लेनको छ । यो सडक खण्डमा काठमाडौं डिभिजनले ३ लेन थप गर्नेछ । उत्तरतर्फ एक लेन र दक्षिणतर्फ दुई लेन थप हुनेछ । उत्तरतर्फको लेन कोटेश्वरबाट जडिबुटी जाने सवारी गुड्ने छन् भने दक्षिणतर्फबाट ललितपुर जाने सवारी गुड्ने छन् ।

मनहरा खोला पनि दुई वटा पुल निर्माण भइरहेको छ । सडक विभाग पुल महाशाखाले पुल निर्माण गरिरहेको छ ।

 

Nabintech